१ कार्तिक २०८३, आइतबार

पोल गाडेको पाँच वर्ष बित्दासमेत बिजुली आएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalइनरुवा, १३ चैत । करिब पाँच वर्षअघि विद्युत् विस्तारका लागि खम्बा गाड्ने काम सम्पन्न भए पनि सुनसरी जिल्लाको घुस्की गाविस–७ स्थित रहेको मलाह बस्तीमा अझै बत्ती बलेको छैन ।

बिजुलीको खम्बा गाडे पनि तार जडान नहुँदा मलाह वस्तीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

बत्ती बाल्न पाउने आश गरेका स्थानीय अझै पनि बत्ती बाल्न पाइने आशामा सीमित रहेका छन् । सरोकारवाला निकायले ध्यान नदिँदा र सरकारी निकायमा मलाह समुदायको पहुँच नपुगेकाले बत्ती बाल्नबाट वञ्चित हुनुपरेको स्थानीय रामेश्वर मलाहले गुनासो गर्नुभयो ।

आफूहरुले तार जडानका लागि पटकपटक इनरुवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा अनुरोध गर्दा केही दिनमा तार जडान हुन्छ भन्ने आश्वासन पाएपनि अहिलेसम्म पूरा नभएको स्थानीय अशोक मण्डलले बताउनुभयो ।

यता गाविस सचिव राजकिशोर मेहताले प्राधिकरणमा आफूले समेत ताकेता गर्दा कहिले ‘समय छैन’ त कहिले ‘जनशक्ति अभाव’ भन्दै टारिँदै आएको बताउनुभयो ।

तार जडान नहुँदा मलाह वस्तीका करिब २५ घर अन्धकारमा बस्न बाध्य छन् भने सिँचाइ, सञ्चार जस्ता आधारभूत सेवा उपभोग गर्नबाट पनि वञ्चित भएको सचिव मेहताको भनाइ छ । रासस