काठमाडौं, १२ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि विभिन्न मन्त्रालय अन्तर्गत गठन गरिएका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरु र निकायहरुलाई बजेटको अख्तियारी दिएको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त अख्तियारी ६५ अर्व रुपैयाँ मध्येबाट प्राधिकरणले निजी आवास पुनर्निर्माणका अतिरिक्त अन्य क्षेत्र तथा निकायहरुमार्फत पुनर्निर्माणमा बजेट खर्च गर्ने गरी अख्तियारी दिएको हो ।
प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ६० करोड रुपैयाँ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, शिक्षा मन्त्रालयलाई विद्यालय पुनर्निर्माण लगायतमा २ अर्व १९ करोड ५० लाख रुपैयाँ र केन्द्रीय आयोजना कार्यान्वयन इकाई, संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयलाई सम्पदा पुनर्निर्माण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि ३९ करोड ६२ लाख रुपैयाँको अख्तियारी पठाएको छ ।
यस्तै केन्द्रीय आयोजना कार्यान्वयन इकाई, सहरी विकास मन्त्रालयलाई ३६ करोड ५९ लाख रुपैयाँ, कृषि मन्त्रालयलाई ५ करोड १३ लाख रुपैयाँ र सडक विभागलाई ६६ करोड ५० लाख २६ हजार रुपैयाँको अख्तियारी दिइएको छ ।
यसअघि निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई २६ करोड ५० लाख रुपैयाँको अख्तियारी दिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
















प्रतिक्रिया