धनकुटा, १२ चैत । नेपाल अलैंची व्यवसायी महासंघले विभिन्न जिल्लाका अलैंची व्यवसायी तथा अलैंची किसानहरुलाई अलैंचीको ट्रेडमार्क तथा वेयर हाउस सञ्चालनसम्बन्धी जानकारी अभियान सञ्चालन गरेको छ ।
यसैक्रममा उल्लेख्य अलैंची उत्पादन हुने धनकुटा जिल्लामा महासंघले शुक्रबार त्यहाँका व्यवसायी तथा किसानका माझ ट्रेडमार्क तथा वेयर हाउस सञ्चालन सम्बन्धी अन्तरक्रिया गरेको छ ।
महासंघको आयोजना र महासंघ धनकुटा शाखाको संयोजनमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष निर्मल भटराईले सञ्चालन भइरहेका ती विषयमा जानकारी दिएका थिए भने स्थानीय किसान तथा व्यवसायीले टेडमार्क र वेयर हाउस सञ्चालन बारे चाँसो व्यक्त गरे । सँगसँगै किसान तथा व्यवसायीले विभिन्न रोगका कारण अलैंची मासिँदै गएको र उत्पादित अलैंचीको ओरालो लाग्दै गएको मूल्यप्रति चिन्ता व्यक्त गरे ।
किसानहरुले राज्यले अब किसानलाई पर्याप्त रुपमा रोगमुक्त बिरुवा सहज ढंगले उपलब्ध गराउन नर्सरी उत्पादनमा लगानी गर्न आग्रह गरे । स्थानीय व्यवसायीहरुले धनकुटामा वेयर हाउस सञ्चालन हुनुपर्ने माग गर्दै त्यसका लागि सहयोग गर्न आग्रह गरे ।

धनकुटाका अगुवा कृषक तथा वर्ष ०७१ मा राष्ट्रपति उत्कृष्ट कृषकका रुपमा पुरस्कृत चन्द्रलाल तामाले अलैंचीका बगानहरु रोगले मासिँदै गएकोले नयाँ नर्सरी उत्पादन कार्यलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए । अब नर्सरी उत्पादन र वितरण कार्यलाई तीव्रता दिइएन भने विदेशी मुद्रा आर्जन गर्ने यो अलैंची एकादेशको कथाजस्तो हुने छ उनले भने ।
महासंघ धनकुटा शाखाका अध्यक्ष इन्द्रबहादुर तामाको अध्यक्षतामा लखमान घिसिले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रमका कृषि तथा अर्थविज्ञ शंकरप्रसाद साह, जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्रमुख लक्ष्मीप्रसाद खरेल, विभिन्न कृषि वस्तु प्रवद्र्धनमा काम गर्दै आएको गैरसरकारी संस्था उन्नति समावेशी कार्यक्रमका कृषि व्यापार विशेषज्ञ, विश्वबन्धु राजसिंह, महासंघका सचिव इन्द्रचन्द विन्दल, कोशी अञ्चल प्रतिनिधि अमृत सुवेदी, धनकुटा उद्योग वाणिज्य संघ हिलेका अध्यक्ष उमेश घिमिरे, कृषि व्यवसायी संघ धनकुटाका अध्यक्ष सुरेन्द्र पौडेललगायतले बोलेका थिए । सबैले अलैंचीको उत्पादन, व्यवसाय र बजारीकरण प्रवद्र्धनमा सरोकारवाला सबै निकाय संस्थाले समन्वय गरी एकदार प्रणालीमार्फत लगानी गर्नुपर्नेमा जोड दिए ।
कृषि व्यवसायी संघका पौडेलले अलैंचीका सन्दर्भमा सरोकारवाला निकायसंस्थाहरुबाट भइरहेका लगानी पूर्णरुपमा उपलब्धिमुलक बन्न नसकेको, किसानसम्म नपुगेको भन्दै आक्रोश व्यक्त गरे ।
यो अभियानमा महासंघका केन्द्रीय सदस्य भरत चौधरी, निमेश मित्तललगायत सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको छ । यसकिसिमको अन्तरक्रिया कार्यक्रम शनिबार भोजपुरमा, आइतबार संखुवासभामा र सोमबार तेह्रथुममा आयोजना गरिने अलैंची व्यवसायी महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले जानकारी दिए ।
















प्रतिक्रिया