– झलक पाली
डोटी, ९ चैत । डोटीको सिमानामा पर्ने कैलालीको निंगाली गाविस वडा नं. ३ मा रहेको शिवसूर्य बहुमुखी क्याम्पसको सहयोगार्थ आयोजना गरिएको शिवसूर्य धार्मिक महोत्सवबाट करिब ९० लाख आर्थिक संकलन भएको छ ।
यहि चैत्र १ गते देखि ९ गतेसम्म सञ्चालन गरिएको उक्त महोत्सवबाट ७० लाख नगद र करिब २० लाख बराबरको जग्गा तथा भौतिक सहयोग प्राप्त भएको सो क्याम्पसका प्राध्यापक भिम बोहराले जानकारी दिए ।
कैलाली जिल्लाको पहाडी गाविस सहजपुर, निंगाली, मोहन्याल, पाण्डौन तथा छिमेकी डोटी जिल्लाका बर्छैन, निरौली लगायतका गाविसका समेत विद्यार्थीहरु अध्ययन गर्ने उक्त क्याम्पसमा आयोजना गरिएको धार्मिक महोत्सवमा स्थानीय तथा पाहुनाहरुले खुल्ला हृदयकासाथ सहयोग गरेको क्याम्पसले जनाएको छ ।
उक्त महोत्सवमा भवानी केमिकल्स प्रा.लि. गेटा कैलाली तथा भद्रकाली रोजिन एण्ड टर्पेन्टाईन इन्डष्ट्रिज प्रा.लि. कैलालीको तर्फबाट शाखा कार्यालय बिपिनगरका ईन्चार्ज गंगाप्रसाद सेढाईले रु. १० लाख शिवसूर्य बहुमुखी क्याम्पसलाई हस्तान्तण गरेका थिए । उक्त रोजिन कम्पनीले २ बर्ष केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसमा आयोजना गरिएको महायज्ञमा पनि क्याम्पसको सहयोगार्थ रु १० लाख उपलब्ध गराएको थियो ।
उक्त अवसरमा बोल्दै शाखा ईन्चार्ज गंगाप्रसाद सेढाईले आफ्नो कम्पनीको कार्यक्षेत्र नभए पनि शैक्षिक संस्थालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
यसै गरि अर्को रोजिक कम्पनी दिव्या रोजिनले पनि क्याम्पसको सहयोगार्थ रु १ लाख ७१ हजार उपलब्ध गराउने घोषणा गरेको छ ।
सम्पूर्ण सहयोगदाताहरुमा क्याम्पस परिवारले धन्यवाद ज्ञापन गरेको छ । उक्त धार्मिक महोत्सवमा पण्डित नारायण सञ्जेलले कथा वाचन गरेका थिए ।















प्रतिक्रिया