काठमाडौं, ७ चैत । नेपालका एकमात्र अर्बपति लूनकरणदास चौधरीको स्वर्गारोहणको ४५ औं दिनको पुण्यतिथिमा शनिबार साँझ श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । लूनकरणदास विनादे चौधरीका पिता हुनुहुन्थ्यो ।
शनिबार साँझ सम्पन्न उक्त श्रद्धाञ्जलि सभा स्व. चौधरीद्वारा प्रतिपादित ५ वटा सामाजिक संस्थाहरू क्रमशः “भूरामल लूनकरणदास”, श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, श्री लूनकरण दास–गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल, दुहवी सुनसरी नेपाल, “बसन्त चौधरी फाउण्डेशन (बिसिएफ) र नर्भिक इन्टरनेशनल हस्पिटलले संयुक्त रुपमा आयोजना गरेको नर्भिक अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले जानकारी दिनुभयो ।
उनका अनुसार श्रद्धाञ्जलि सभामा नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंह, बसन्त चौधरी फाउण्डेशनका द्वितीय उपाध्यक्ष पारस शाक्य, श्री लूनकरणदास– गङ्गादेवी चौधरी साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले स्व. चौधरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आफूहरुले अभिभावक गुमाएको बताउनुभएको थियो ।
सभामा नर्भिककी कार्यकारी निर्देशक तथा सभाका सभाध्यक्ष श्रीमती मेघा चौधरीको धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाली अर्थतन्त्रमा यस्तो थियो चौधरी योगदान
राष्ट्रकै औद्योगिक जगतका पिता स्व. लूनकरणदास चौधरी निष्ठा र आस्थाको व्यवसाय गर्ने, आफू सङ्कटमै पर्दा पनि, आफूलाई घाटा हुँदा पनि आफ्ना ग्राहकलाई कहिल्यै त्यसको भार नपार्ने एक अत्यन्तै सराहनीय व्यक्तित्व सहितका कर्मयोगी हुनुहुन्थ्यो ।
शब्दमा भन्दा कर्ममा विश्वास गर्ने, सादा जीवन, उच्च विचारका धनी स्व. चौधरीले नेपालमा उद्यमशीलताको भावना जगाउनु त भयो नै, त्यसका अलावा आफू जन्मिएको धर्तीप्रतिको साह्रै ठूलो माया र समर्पणकै कारण स्व. चौधरी नेपाली औद्योगिक आकाशका एक ज्वलन्त नक्षत्र बन्न सफल हुनुभयो ।
स्व. चौधरीका पिताले अत्यन्तै सानो पूँजी खर्चिदै श्रीगणेश गर्नुभएको कपडाको व्यवसायलाई स्व. लूनकरणले विस्तारित र परिमार्जित गर्दै लग्नुभयो र उहाँले बसालिदिनुभएको जगमा आज हामी उभिएका छौं । त्यसै जगलाई सवलीकरण र विस्तृतिकरण गर्दै जाँदा चौधरी ग्रुप नेपालकै एक मात्र बहुराष्ट्रिय कम्पनी समेत बन्न सफल रह्यो, यसका व्यवसायिक जराहरू संसारभर फैलिन सफल रहे । त्यसको सम्पूर्ण श्रेय स्व. चौधरीमा जान्छ ।

नेपाली औद्योगिक जगतमा चौधरी ग्रुप/भूरामल लूनकरणदास कङ्लोमेरेटको जुन उच्च स्थान छ, त्यसको श्रेय स्व. लूनकरणदास चौधरीमा नै जान्छ । यस गु्रपलाई यहाँसम्म पुर्याउन उहाँले एकलरुपमा निर्वाह गर्नुभएको भूमिका र योगदानको चर्चा जति नै गरे पनि कमै हुन्छ । नेपाली औद्योगिक फाँटमा सिद्धहस्त पुरुष भनौ या एकलब्य नै भनौ स्व. चौधरीकै एकल प्रयासबाट विजारोपित चौधरी गु्रप आज राष्ट्रकै एक मात्र बहुराष्ट्रिय कम्पनीका रुपमा स्थापित र प्रतिष्ठित छ । श्री चौधरीको विलक्षण प्रतिभा, कठोर परिश्रम, भगिरथ प्रयास, दूरदर्शिता, भिष्मपितामयी त्याग र जोखिम मोल्न नडराउने स्वाभावकै कारण गु्रप आज अन्तर्राष्ट्रिय स्तरमा उभिन सफल भएको हो भन्ने कुरामा दुई मत छैन ।
यी सबैमा श्री चौधरीको वरद् एवम् कुशल नेतृत्व कारक रहेको मान्न सकिन्छ ।
वि.सं. २०२३–२४ तिरै उहाँका औद्योगिक प्रतिष्ठानहरू विस्तारित हुन थालिसकेका थिए । उहाँको दूरदृष्टि एवम् जोखिम मोल्न पछि नहट्ने गुणकै कारण उहाँले सुनसरीको जङ्गल प्राय देखिने दुहवीमा पूर्वाञ्चलकै पहिलो र राष्ट्रकै दोस्रो विस्कुट उत्पादक कम्पनी, अत्याधुनिक मैदा मिल र प्याकेजिङ्ग उद्योग खोल्नुभयो । तत्कालिन समयमा उहाँको विस्कुट उद्योग (श्री पशुपति विस्कुट) का उत्पादनहरू अत्यन्तै लोकप्रिय भएकै कारण भारतका उत्तरी राज्यका अधिकांश बजार कब्जा गर्न सफल रहेका थिए । जर्मन प्रविधियुक्त प्लाण्टबाट उत्पादित अत्यन्तै गुणस्तरीय र स्वादिष्ट ती विस्कुटहरू भारतीय ग्राहकहरूका पहिलो रोजाई मै पर्थे ।
त्यसरी नेपालमै अत्यन्तै स्तरीय जापानी प्रविधियुक्त स्टील (रत्ना स्टील इण्डष्ट्रिज) का भाडा–वर्तन, मोडर्न होजियरी उद्योग, राष्ट्रमै सर्वप्रथम फ्लोरिङ्ग एण्ड फनिर्सिङ्गको अवधारणा र भारतमा आयात प्रतिबन्ध रहेको अवस्थामा यूरोप, अमेरिका, फ्रान्स र जापानबाट उच्च स्तरिय इलेक्ट्रोनिक्स्, मेसिनरीज्, रेडियो/ट्रान्जिस्टर, टिभी, आदि आयात गरी भारतीय उपभोक्तालाई समेत आकर्षित गर्नसक्नु उहाँको ठूलो दूरदर्शिता थियो । उहाँले चाल्नुभएका सबै कदमहरू राष्ट्रहितमा केन्द्रित हुन्थे । उहाँका सत्कर्महरू सबै ब्याख्या गर्न सम्भवै हुँदैन ।




















प्रतिक्रिया