काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी ओलीले चैत ७ देखि १४ गतेसम्म गर्न लाग्नुभएको चीन भ्रमणलाई लक्षित गरेर संघीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धनको यो कार्यक्रमलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । विशेष गरेर गठबन्धनका आलोचकहरूले चीनविरुद्धको आन्दोलनका रुपमा लिएको आरोप छ । तर गठबन्धनले यो आरोपलाई मान्न तयार छैन ।
सदभावना पार्टीका महासचिव मनीषकुमार सुमनले आफूहरूको आन्दोलन विशुद्ध राजनीतिक र अधिकारको लडाइँ भएकाले कुनै छिमेकी मुलुकविरुद्ध संघर्ष हुनै नसक्ने बताउनु हुन्छ । ‘सरकारसँग हाम्रो आन्तरिक लडाइँ हो । अधिकारको लडाइँ हो । संविधानमा भएको विभेदको लडाइँ हो । संघीय गठबन्धनको आन्दोलन कुनै मुलुकविरुद्ध होइन’, उहाँले भन्नुभयो ।
सरकारमा नरहेका साना र ठूला पार्टी सम्मिलित १५ दलीय गठबन्धनले प्रधानमन्त्री ओली चीन जानुअघि काठमाडौंमा प्रदर्शन र चिनियाँ राजदूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेपछि आन्दोलनप्रति आशंकाहरू उब्जिएका छन् । यो गठबन्धनमा मधेसी मोर्चाको बर्चस्व छ ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि आफूहरूको पूर्वनिर्धारित आन्दोलन अनुसार राजधानी केन्द्रित संघर्ष सुरू भएको बताउनुभयो । ‘हाम्रो आन्दोलन राजधानी केन्द्रित सुरू भएको छ’, उहाँले भन्नुभयो, ‘यो आन्दोलन कुनै मुलुकविरुद्ध होइन । यसमा कुनै आशंका गर्नु हुँदैन ।’
तराई मधेस सद्भावना पार्टीका सहअध्यक्ष एवम् वरिष्ठ नेता रामनरेश रायले पनि आन्दोलन चीनविरुद्ध नरहेको दाबी गर्नुभयो । ‘यो अधिकारको लडाइँ हो । राजनीतिक माग लिएर आएका संघीय गठबन्धन कसरी छिमेकी मुलुक विरोधी हुन्छ ?’, उहाँले भन्नुभयो, ‘आन्दोलनका विषयमा कसैले भ्रम पाल्नु हुँदैन ।’
प्रधानमन्त्री ओली भारत जाने बेला कुनै पनि विरोध प्रदर्शन नगरेको संघीय गठबन्धनले चीन जाने बेला एकाएक विरोधका कार्यक्रम सार्वजनिक गरेपछि विभिन्न खालका प्रश्नहरू उब्जिएका हुन् । संघीय गठबन्धनले चीनविरुद्ध आन्दोलन सुरू गरेको हो कि भनेर टिकाटिप्पणी भएका छन् ।















प्रतिक्रिया