जुम्ला, ४ चैत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टले) जुम्लामा ऊर्जा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
बुधबार जुम्लामा ‘वैकल्पिक ऊर्जा सम्भावना’ विषयक गोष्ठीमा नास्टले यो कुरा सार्वजनिक गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टका) वरिष्ठ वैज्ञानिक रवीन्द्र ढकालले देशमा भइरहेको ऊर्जा सङ्कटलाई विशेष ध्यान दिएर जुम्लासहित मुलुकका १५ जिल्लामा सम्भाव्यता अध्ययनको कार्य थालिएको बताउनुभयो ।
जुम्लाको ऊर्जा सङ्कटलाई हृदयङ्गम गरी तत्काल यहाँको ऊर्जा सम्भाव्यता र अवस्थाको विषयमा अनुसन्धान गर्ने वरिष्ठ वैज्ञानिक ढकालले जनाउनुभयो । “अहिलेको समयमा बत्ती घरको प्रयोगका लागि मात्रै प्रयोग गरिरहेका छाँै, अब फराकिलो ढङ्गले सोचेर कृषिमा पनि बत्तीको प्रभावकारी प्रयोग हुनुपर्दछ र यो समयमा हरेकको घरमा वैकल्पिक ऊर्जा हुनुपर्दछ”, उहाँले भन्नुभयो ।
नास्टले साना तथा दीर्घकालीन प्रविधि विकास अध्ययनमा प्राथमिकता दिँदै आएको जनाउँदै चीनले यही प्रविधिअनुसार विश्व बजारमा आफ्नो बाहुल्यता जमाएको उहाँको भनाइ थियो । फोहोर प्लास्टिकलाई प्रयोग गरी डिजेल निकाल्ने अध्ययनसमेत गरिरहेको नास्टले जनाएको छ ।
गोष्ठीमा प्रजिअ रुद्रप्रसाद पण्डितले कर्णालीमा नास्टले उल्लेख्य अनुसन्धानको काम गर्ने विश्वास रहेको जनाउनुभयो । प्रजिअ पण्डितले भन्नुभयो, “कस्तुरीको आफ्नै शरीरमा विना हुन्छ, तर त्यसैको खोजीमा ऊ भौँतारिरहेको हुन्छ । कर्णालीमा अथाह स्रोत छ, यद्यपि यसले माल पाएर पनि चाल नपाएको अवस्था छ”, उहाँले थप्नुभयो । यिनै स्रोतको सम्भाव्यता आजको आवश्यकता भएको भन्दै उहाँले यसको प्रभावकारी अनुसन्धानमा सहयोग पु¥याउन नास्टलाई अनुरोध गर्नुभयो ।
निमित्त स्थानीय विकास अधिकारी क्षेत्रबहादुर बुढ्थापाले जुम्लामा १३ देखि १४ हजार घरधुरीले सौर्य ऊर्जा प्रयोग गरिरहेको जनाउँदै ८० प्रतिशत घरधुरीमा फलामे चुलो प्रयोग भएको बताउनुभयो । बुढ्थापाले विभिन्न प्रयास हुँदाहँुदै पनि चन्दननाथ नगरपालिका ऊर्जा सङ्कटमा रहेको र यसको दीर्घकालीन पहल गर्न सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा गैसस महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले ऊर्जासम्बन्धी सरकारको नीतिले यसलाई प्राथमिकता दिनुपर्ने औँल्याउनुभएको थियो । रासस















प्रतिक्रिया