– समाचार टिप्पणी
काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा अहिले सञ्चारमाध्यमको ‘हटकेक’ बन्दै आएका छन् । उनले जे बोले पनि सञ्चारमाध्यमको प्राथमिकतामा परिरहेका छन् । कांग्रेसमा देउवाको उदयले विभिन्न तरंग सिर्जना भइरहेका छन् । नेपाली कांग्रेसका कार्यकर्ताले मात्र होइन अधिकांश नेपालीले अब देउवाको आगामी कदम कस्तो हुने भन्ने जिज्ञासा राखिरहेका छन् । वास्तवमा देउवाका प्राथमिकता के हुन् त ?
नवनिर्वाचित कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । सभापतिमा निर्वाचित भएकोमा बधाई दिन पुग्ने अधिकांशलाई देउवाले भन्ने गरेका छन् ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्छ ।’ तर संविधान कार्यान्वयनमा कांग्रेसनै बाधक हुँदै गएको देखिएको छ । संसद्को नियमावली मस्यौदा बनाउन कांग्रेसले बाधा सिर्जना गरिरहेको छ । पुरानो संविधानअनुसार नियमावली बनाउनुपर्ने कांग्रेसको अडानका कारण नयाँ नियमावली मस्यौदा बन्न सकेको छैन । सत्तारुढ दल नेकपा एमाले र एकीकृत माओवादीले नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने भन्दै संसद् नियमावली बनाउन खोज्दा संसदीय सुनुवाई समितिका सदस्य भने पुरानै व्यवस्थाअनुसार ७३ सदस्यीय राख्नुपर्ने कांग्रेसको हठका कारण नियमावली पास हुन सकेको छैन । यसले संविधान कार्यान्वयनमै कांग्रेस बाधक देखिँदै गएको छ । देउवाको बोली र व्यवहारमा देखिएको अन्तरले के कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन सक्छ त भन्ने प्रश्न खडा भएको छ ।
संविधान कार्यान्वयनका लागि सरकारको पनि नेतृत्व लिनुपर्ने सुझाव देउवालाई आउने गरेका छन् । तर देउवाले तत्काल सरकारको नेतृत्व लिन र सरकारमा जान हतार नभएको प्रतिक्रिया दिँदै आएका छन् । देउवाको विगतलाई हेर्दा उनी सत्ताका लागि जे पनि गर्न तयार हुने नेताको रुपमा चिनिन्छन् । तर यसपटक परिस्थिति भने फरक खालको छ । त्यसलाई राम्ररी नबुझी बोल्दा हतार भएको हुनसक्ने आंकलन गर्दै देउवाले सरकारको नेतृत्व गर्न आफूलाई हतार नभएको त भन्दै छन् तर उनले संविधान कार्यान्वयन कांग्रेसकै नेतृत्वले गर्छ भन्दै सरकारमा जाने मनसाय भने राखेको देखिन्छ ।
देउवाले वर्तमान सरकारलाई अप्ठ्यारोमा पार्ने र सरकारमै भएका दलहरुबीच पनि असन्तुष्टि सिर्जना गर्दै सरकार ढाल्ने रणनीति तय गर्ने कतिपयको बुझाइ छ । कांग्रेस नेताहरु डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँडलगायतले सरकारको नेतृत्वका लागि देउवालाई उक्साइरहेका छन् । उनीहरुकै सल्लाहअनुसार देउवाले कुटनीतिक भाषामा संविधान कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले लिने बताउन थालेका हुन् । देउवाले संविधान कार्यान्वयनका लागि अहिलेको सरकारलाई पूर्ण सहयोग गर्ने बताइरहे पनि भित्रि चाहना भने संसदीय दलको नेतामा आफू विजयी भएपछि सरकारको नेतृत्व लिने चाहना नै रहेको देखिन्छ । संसदीय दलको नेता चयन नभएसम्म प्रत्यक्षरुपमा सरकारको नेतृत्वको दाबी नगरे पनि उनले अन्य दलसँग परामर्श भने शुरु गर्ने देउवा निकट स्रोतले बनाएको छ । त्यसबीचमा देउवाले अरु राजनीतिक दलको मनस्थितिसमेत बुझिसक्ने बताइएको छ ।
संविधान कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने ओठे प्रतिबद्धता जाहेर गर्दै जाने र ठाउँठाउँमा अप्ठ्यारो सिर्जनासमेत गर्दै जाने देउवाको रणनीति मुखमा रामराम बगलीमा छुरा जस्तै देखिएको छ ।












प्रतिक्रिया