काठमाडौं, ३ चैत । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो मुलुकको स्वार्थ, राष्ट्रियता र स्वाधीनतालाई ध्यानमा राखेर मात्रै सन्धि–सम्झौता गर्न सुझाव दिएको छ ।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई ध्यानमा राखेर निर्णय गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको हो । ‘वाणिज्य तथा पारबहनको विषयलाई ध्यान दिइ अगाडि बढ्नु पर्छ’, उहाँले भन्नुभयो, ‘दुई मुलुकबीचको हित र जनताको आवश्यक्ताअनुसार अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व हो ।’
‘मित्रराष्ट्र चीनको भ्रमणका बेला इन्धनका साथै अन्य व्यापारिक सम्झौता गर्न पनि सुझाव दिन चाहन्छौँ’, चुरे भावरको विज्ञप्तिमा भनिएको छ, ‘तेल, ग्यास, औषधिलगायतका अत्यावसेक वस्तुमा एउटा मात्रै मुलुकको भरपर्दा नेपाली जनताले महिनौदेखि दुःख पाएको दृष्टान्त सेलाउन पाएको छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीको भ्रमणले यी र यस्ता विषयलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ ।’
अध्यक्ष न्यौपानेले चीनसँग सन्धि–सम्झौता गर्दा राष्ट्रिय स्वाधीनतालाई ध्यान दिन पनि आग्रह गर्नु भएको छ ।
साथै, चुरे भावर पार्टीले नेपालको भूमि ‘लिपुलेक’मा चीन र भारतले नाका खोल्न गरेको सम्झौताका विषयमा पनि गम्भीर रुपमा कुरा उठान गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेको छ ।
‘नेपालको सहमतिविना गरिएको सम्झौतालाई तत्काल यसै भ्रमणका बेला कुटनीतिक माध्यममार्फत लिपुलेकको समस्या समाधान गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्ने समय नजिकिँदै गर्दा चुरे भावर पार्टीले ‘लिपुलेक’का साथै बाणिज्य र पारबहनलगायतमा सम्झौतामा ध्यान दिन आग्रह गरेको हो ।












प्रतिक्रिया