काठमाडौं, २९ फागुन । ग्यास बिक्रेताहरूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी खाना पकाउने ग्यासमा भएको चरम कालोबजार रोक्न माग गरेका छन् ।
ग्यास बिक्रेता महासंघका प्रतिनिधि मण्डलले आज बिहान अध्यक्ष दाहाललाई लाजिम्पाटस्थित निवासमा भेट गरेर ग्यासमा भइरहेको कालोबजारी तत्काल अन्त्यको माग गरेका हुन् । ग्यासमा चरम कालोबजारी भएको भन्दै ग्यास बिक्रेताहरू ज्ञापनपत्र लिएर आइपुगेपछि अध्यक्ष दाहाल अप्ठेरोमा पर्नुभएको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सर्वसाधारण उपभोक्ताले ग्यास नपाएको भन्दै एमाओवादीको भागमा आपूर्ति मन्त्रालय रहेकाले आफ्ना मन्त्रीलाई निर्देशन दिइ ग्यासमा भइरहेको कालोबजारी अन्त्यका लागि दबाब दिएएको बताउनुभयो ।
‘बजारमा ग्यासमा भएको कालोबजारी रोक्न पहल गर्न नै हामीले विशेष जोड दिएका छौँ’, अर्यालले भन्नुभयो, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउने बारे पनि हामीले आग्रह गरेका छौँ ।’
जवाफमा अध्यक्ष दाहालले ग्यासमा भइरहेको कालोबजारी अन्त्यका लागि आफूले आपूर्ति मन्त्रीलाई निर्देशन दिनुका साथै प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल गर्ने आश्वासन दिनुभएको छ ।
सरकार गठनका बेला आपूर्ति मन्त्रालय एमाओवादीको भागमा परेको छ । आपूर्ति मन्त्रीको जिम्मेवारी गणेशमान पुनले सम्हाल्दै आउनुभएको छ ।












प्रतिक्रिया