सदावहार चर्चित युवा लोकदोहोरी गायक याम क्षत्रीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक क्षत्रीले ‘सुपारी कुटुक्क …’ बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । गीतमा गायक क्षत्रीको स्वरलाई गायिका देवी घर्तीमगरले साथ दिएकी छन् । एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतलाई आशिष म्युजिकले बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियो पर्वतको पाङ गाविसको सिधालीमा छायांकन गरिएको छ ।
पर्वत जिल्लाको पाङ गाविसमा २०४३ सालमा जन्मिएका गायक क्षत्रीले यसअघि पनि चर्चित गीत गाइसकेका छन् । २०६० सालदेखि संगीत क्षेत्रमा लागेका क्षत्रीले यसअघि गाएका ‘फूल राम्रो गुलावको’, ‘शीतल दिने पीपल समी छ’, ‘घामले नि पोल्दियो’, ‘किन यस्तो हुन्छ’, ‘माली गाईको दही मीठो’, ‘बादलुले हो’, ‘नयाँ नेपाल’, ‘मेरी आमाको’, ‘यो चोखो माया मर्दैन’, ‘कल्पनामै भए नि देख्छु भनेको’, ‘यस्तै रै’छ माया’, ‘कलाकारले देखे’, ‘गाइने दाई’लगायतका गीत चर्चित छन् ।
उनले २ सयभन्दा बढी गीत गाइसकेका छन् । मौलिक लोकदोहोरी गीत गाउन रुचाउने क्षत्रीले आगामी दिनमा पनि नेपालीपन झल्कने र सामाजिक चेतना अभिवृद्धि गर्ने खालका गीत गाउन चाहेका छन् । लोकदोहोरी गीत भनेर समाजमा अपाच्य हुने खालका गीत बजारमा आइरहेकोप्रति दुःख व्यक्त गर्दै क्षत्रीले क्षणिक फाइदा र लोकप्रियताका लागि भन्दा पनि आफूले नेपाली परिवेश अनुसारको गीत मात्र गाउने गरेको बताए ।
छाडा गीतले नेपाली संस्कृति र लोक दोहोरी क्षेत्रलाईसमेत बदनाम गराउने उनको भनाइ छ । गायक क्षत्रीले गीत संगीतका क्षेत्रमा समेत सेन्सर आवश्यक रहेको बताए । उनले ‘सालै जो’, ‘पञ्चेबाजा’, ‘रोइला’, ‘देउडा’ भाखाका गीत गाउन चाहेको दैनिक नेपाललाई बताए ।
गायक क्षत्रीले एकनारायण भण्डारी, बसन्त थापा, प्रल्हाद सुवेदी, शीव सुवेदी, कर्ण चापागाईं ‘पुनर्जिवित’, शीव अखेली, कृष्ण अखेली, प्रकाश रेग्मीलगायतको सिर्जनामा ‘तुम्बा तान्ने सुईरो’, ‘पराइको आगनमा’, ‘कलाकारले देखे भाग–२’, ‘पञ्चेबाजा’, ‘पहाडको पर्वततिर’ बोलको गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
हेर्नुस् भिडियो















प्रतिक्रिया