
काठमाडौं, २५ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार गठनबारे मुख खोलेका छन् ।
हाल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराएर राष्ट्रिय सरकार बनाउने चर्चा भइरहेका बेला सभापति देउवाले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
जसअनुसार उनले ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी नहुने स्पष्ट संकेत गरेका छन् ।
निर्वाचित भएपछि आज पहिलो पटक आफ्नो निजी निवास बुढानिलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सरकारमा सहभागी हुनेबारे कांग्रेसले कुनै निर्णय नगरेको बताए ।
प्रधानमन्त्री ओलीले काँग्रेसको महाधिवेशनपछि काँग्रेस पनि सरकारमा सहभागी हुन्छ भनेका छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले पार्टीमा अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको बताए । ‘प्रजातान्त्रिक पार्टी हो, मैले एक्लै भनेर केही हुँदैन’ घुमाउरो भाषामा उनले सहभागी नहुने संकेत गरे ।
मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने काँग्रेसको धारणा रहेको बताउँदै उनले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने काँग्रेसको धारणा रहेको जानकारी दिए । ‘बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ’ पूर्वप्रधानमन्त्री देउवाले भने ।
उनको यस्तो प्रतिक्रियाले प्रधानमन्त्री ओलीले गरेको आशा निराशामा बदलिएको छ । स्रोतका अनुसार बरु कांग्रेसले एक्लै सरकार बनाउने तर, ओली सरकारमा नजाने नीति लिएको छ ।












प्रतिक्रिया