काठमाडौं, २२ फागुन । कांग्रेसमा नयाँ नेतृत्वका लागि निर्वाचन आउन केही घण्टा मात्रै बाँकी रहेका बेला सभापतिसहितका उम्मेदवारहरूले विभिन्न उपायमार्फत आ–आफ्नो प्रचार प्रसारलाई तीब्र बनाइ रहेका छन् ।
कुनै उम्मेदवारले सामान्य रुपमा प्रचार प्रसार गरेका छन् भने पैसा हुने उम्मेदवारहरूका भड्किला र तामझामसहितका सामाग्री हुने गरेका छन् ।
यसैबीच, संस्थापनबाट सभापतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूसँगै बसेर भृकुटीमण्डपमा खाना खाएका छन् । बाहिरको खाना खासै नखाने पौडेलले आज भने महाधिवेशन प्रतिनिधिहरूसँग बसेर खाना खाएका हुन् ।
पौडेलसँग खाना खानेमा केन्द्रीय सदस्यका महामन्त्रीका उम्मेदवार डा.शशांक कोइराला, कोषाध्यक्षकी उम्मेदवार सीतादेवी यादव र केन्द्रीय सदस्यका उम्मेदवार प्रकाशमान सिंह रहेका थिए । खाना खाने क्रममा उनीहरूले महाधिवेशन प्रतिनिधिहरूसँग भलाकुसारी गर्दै मत मागेको एक नेताले बताए ।
उता, वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आफ्नो पक्षमा धमाधम आज मत मागेका छन् । आफ्ना केही सहयोगी र केन्द्रीय सदस्यका उम्मेदवारसँग मिलेर महाधिवेशन प्रतिनिधिहरूसँग भृकुटीमण्डपमा मत मागेका हुन् । उनलाई अमरेश कुमार सिंह, फरमुल्लाह मन्सुरलगायतले साथ दिएका थिए ।
यसैबीच, विभिन्न पद र सदस्यहरूमा उम्मेदवारी दिएका नेताहरूले पनि महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग मत मागेका छन् ।
यसरी मत माग्नेमा संस्थापन समूहका विद्रोही गगन थापादेखि गोविन्दराज जोशीसम्मका छन् । आज खुमबहादुर खड्काले पनि प्रतिनिधिहरूसँग मत मागेका थिए ।
आफूलाई मत माग्नेमा सुजाता कोइराला, डीना उपाध्याय, इश्वरी न्यौपाने, दीपक गिरी, रमेश लेखक, राजु खनाल, प्रा.डा.गोविन्दराज पोखरेल, जीवन परियार, अनिता देवकोटा, सीता गुरुङ, विश्वप्रकाश शर्मा, घनश्याम रेग्मी, महेन्द्र शर्मा, प्रदीपराज शर्मा, रामहरि खतिवडा, भरतराज न्यौपाने, कुलबहादुर गुरुङ, पार्वती डिसी चौधरी, लक्ष्मण घिमिरे, विमला नेपाली, विनयध्वज चन्द, मानबहादुर नेपाली, नयनसिंह महर, तारानाथ रानाभाट, टेकराज पौडेल, पदमनारायण चौधरी, बद्री पाण्डे, शेखर कोइराला, शंकर भण्डारी, सरिता प्रसाईँ, गुरुराज घिमिरे लगायत रहेका छन् ।












प्रतिक्रिया