
काठमाडौं, २१ फागुन । नेपालमा लगातार जहाज दुर्घटना भइरहेका बेला विश्व हवाई उडानमा एउटा नयाँ रेकर्ड कायम भएको छ ।
इमिरेटस् एयरबस ए ३८० जेटले दूरीका आधारमा हालको सबैभन्दा लामो अविराम व्यापारिक उडान भरेको नयाँ रेकर्ड कायम गरेको हो । यो विमानले बुधबार अकल्यान्ड पुग्दा बीचमा कहि नरोकेर लगातार १४ हजार २ सय किमी दूरी तय गरेको थियो ।
यो उडान समयका आधारमा सबैभन्दा लामो हुने अपेक्षा गरिए पनि चाँडै नै अवतरित हुन पुग्यो । अकल्यान्डबाट दुबई पुग्न १७ घन्टा १५ मिनेट लाग्ने अनुमान गरिएकोमा १६ घण्टा २४ मिनेटमै विमान गन्तव्यमा पुग्यो ।
यो नयाँ रुटबाट दुवै सेक्टरबीचको हवाई यात्रा समयमा ३ घण्टा बचत हुन्छ । उद्घाटन उडान ए–३८० ले गरे पनि अब नियमित सेवाचाहिँ बोइङ ७७७–२०० एलआरले गर्ने भएको छ । इमिरेटसले यस सेवाको निकै ठूलो माग आउने आस गरेको छ । क्वान्टासले गरिरहेको डल्लास–सिड्नी उडानलाई दूरीका आधारमा यसले जितेको हो ।
डल्लासबाट सिड्नी पुग्न १३ हजार ८ सय किमि पार गर्नुपर्छ । जसको उडान समय १६ घण्टा ५५ मिनेट हो । जुन भने अहिलेसम्मकै कीर्तिमानी उडान समय हो । इमिरेटसले यही मार्चभित्र दुबईबाट पानामा सिटीसम्म १७ घण्टा ३५ मिनेट लामो उडान चलाई नयाँ कीर्तिमान राख्ने तयारी गरिरहेको छ ।















प्रतिक्रिया