
दाङ, १९ फागुन । भ्रष्टाचार र अनियमितता गरेको अभियोगमा जलउत्पन्न प्रकोप नियन्त्रण १८ नम्वर डिभिजन कार्यालय लमही, दाङका प्रमुख वेदानन्द उपाध्यायलाई कालोमोसो लगाएको भन्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका एक जना नेतालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहीको प्रहरी टोलीले नेकपा माओवादीका जिल्ला सदस्य एकराज चौधरीलाई आज बिहान पक्राउ गरेको नेकपा माओवादी जिल्ला सचिवालय सदस्य ओमप्रसाद सुवेदी ‘सागर’ जानकारी दिएका छन् । लमहीको सुनखोलीस्थित पसल अगाडिबाट चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चौधरीलाई पक्राउ गरेपछि प्रहरीले चौधरीलाई कसैसँग सम्पर्क गर्न नदिएको सुवेदीले बताए । ‘एकराज चौधरी कालोमोसो लगाउने कार्यक्रमा संलग्न छैनन्’, सुवेदीले भने, ‘कुनै दोष नभएको व्यक्तिलाई पक्राउ गर्ने यो कार्य निन्दनीय छ ।’
‘शान्तिपूर्ण रुपमा घरमा बसेका हाम्रा जिल्ला नेतालाई प्रहरीले विनाकारण पक्राउ गरेको छ’, उनले भने, ‘पक्राउ परेका एकराज चौधरीलाई तत्काल विनासर्त रिहा गर्न आग्रह गर्दछु ।’
सचिवालय सदस्य सुवेदीले पक्राउ परेका आफ्ना नेता चौधरीलाई तत्काल नछाडे कडा सडक आन्दोलन गर्ने चेतावनी दिए । ‘जनताको पक्षमा काम गर्नेलाई प्रहरी प्रशासनले जथाभावी धरपकड गर्न मिल्दैन’, उनले भने, ‘चौधरीलाई तत्काल रिहा नगरिए प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्नेभन्दा अर्को विकल्प रहँदैन ।’
विप्लव माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी दाङले कार्यालय प्रमुख उपाध्यायले भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालयभित्रै कालोमोसो दलेको थियो ।
सदस्य सुवेदीले कार्यालय प्रमुख उपाध्यायले गरेको भ्रष्टाचार र अनियमितताको फेहरिस्त आफूहरूसँग रहेको भन्दै यस्तै अवस्था रहे उपाध्यायलाई थप कडा कारबाही गर्न बाध्य नपार्न चेतावनी दिए ।












प्रतिक्रिया