२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको कार्यक्रमबाट सबै बाहिरिएपछि हल रित्तै, आयोजक हिस्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rastriya-sabha-grihaकाठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई महाधिवेशनको रौनकले छोएको छ । नीति तथा कार्यक्रमको चर्चा भन्दा पनि नेतृत्वको विषय कांग्रेसको प्राथमिकतामा परेको छ । कसैलाई पनि भाषण गर्ने र सुन्ने फुर्सदसमेत देखिन छाडेको छ ।

सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आज काठमाडौंमा गरेको नवनिर्वाचित जिल्ला र क्षेत्रीय सभापतिलाई बधाई तथा निवर्तमान सभापतिलाई बिदाई गर्न गरेको कार्यक्रममा सहभागी सबै बाहिरिएपछि हल रित्तै भएको थियो । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा राखिएको कार्यक्रमको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले गर्नुभयो ।

कार्यक्रम उद्घाटन गरेलगत्तै उहाँहरु दुवैले कार्यव्यस्तताको कारण देखाउँदै बाहिरिएपछि अरु नेता तथा कार्यकर्ता पनि बाहिरिएका थिए । पौडेल र देउवा दुवै भावी सभापतिका आकांक्षी हुनुहुन्छ । उहाँहरुले कार्यक्रममा कुनै मन्तव्यसमेत दिनुभएन । तर कार्यक्रम आयोजकले उहाँहरुलाई वक्ताका रुपमा बोलाएका थिए । नेता तथा कार्यकर्ता बाहिरिने क्रमसँगै कार्यक्रम सञ्चालकले कार्यक्रम बाँकी नै रहेको जानकारी दिइरहँदा हल रित्तै भइसकेको थियो ।

सभास्थलबाट बाहिरिएका नेता कार्यकर्ता बाहिर मत माग्न, भेटघाट गर्न, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन, चियाखाजा खान तथा तस्बिर खिचाउन व्यस्त देखिन्थे । कांग्रेसको आसन्न १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदै छ ।