
– मधु लम्साल
काठमाडौं, १७ फागुन । राहदानी नम्बर ०६८४२५२९ बाहक नन्दलाल गणेश पाँच दिनदेखि मलेसियाको क्वालालम्पुर विमानस्थलभित्र भोकभोकै अलपत्र अवस्थामा छन् ।
२३ फेबु्रअरीका दिन मलेसियाबाट नेपाल एअरलाइन्सको विमानबाट नेपाल फर्कँदै गरेका उनी बोर्डीङ लिएर अध्यागमन पार गरी विमानस्थलभित्र अलमलमा परेपछि उनलाई नेपाल एअरलाईन्सका कर्मचारीले आवश्यक खोजी नगरी उडान भरेपछि नन्दलाल अलपत्र परेका हुन् ।
जहाज छुटेपछि अलपत्र परेका नन्दलालले आफन्तलाई ००६०१४९८५९५०२ बाट बारम्बार फोन गरी आफू एअरपोर्ट भित्रै अलपत्र परेको जानकारी गराएका थिए । ‘म ट्वाइलेटमा छु, केही खान पनि पाएको छैन’ भन्दै अलपत्र अवस्थामा रहेका नन्दलालले २४ तारेखदेखि निरन्तर परिवारका सदस्यलाई फोनमा रुँदै भन्ने गर्थे, ‘मलाई लिन छिट्टो एअरपोर्ट आऊ ।’
परिवारका सदस्यको अनुरोधमा मलेसियामा रहेका केही साथीभाई, नेपाल एम्वेसीका लेवर एट्याची र नेपाल एअरलाईन्सलाई समेत क्वालालम्पुर विमानस्थल भित्र भोकभोकै अलपत्र अवस्थामा रहेका नन्दलालको उद्दार गर्न आग्रह गर्दै उसले त्यहाँबाट गरेको मोवाइल नम्बर समेत उपलब्ध गराउँदा पनि दू्रत उद्दारका लागि पहल हुन सकेन ।
नेपाल दूतावासमा सम्पर्क गर्दा सबै कर्मचारीसँग भित्र जाने पास नहुने भन्दै घटनालाई सामान्यरुपमा लिने र अन्य साथीभाईसँग कुरा गर्दा उनीहरुले पनि भित्र प्रवेश गर्न नपाउने बताएपछि एकातिर विमानस्थलभित्र अलपत्र नन्दलाल चिन्ता र तनाव अनी भोकभोकै रहनु पर्दाको अवस्था, अर्काेतर्फ बढ्दो पारिवारिक तनाव ! मलेसियास्थित नेपाल एअरलाईन्सको ०१२३८०९४१४ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफ्नो जिम्मेवारी र दायित्व कुल्चँदै भने, ‘त्यस्तो पागललाई विदेश पठाउने हो ? हामी केही गर्न सक्दैनौं ।’ सम्पर्क नम्बर टिपाउन खोज्दा समेत वास्ता नगर्ने नेपाल एअरलाईन्सका ‘नमकहराम’ ति कर्मचारीको व्यवहारमाथि गम्भीर छानविनको जरुरी छ ।
लगातार चारपाँच दिनसम्मको दबाबपूर्ण अनूरोधपछि हिजोसाँझ (२८ तारेख) विछिप्त अवस्थामा नन्दलाल विमानस्थलभित्र फेला परेका छन् । सम्भवत उनी मंगलबार नेपाल फर्कँदै होलान्, यसका लागि नेपाली दूतावासले नेपाल एअरलाईन्ससँग समन्वय गरिरहेको जनाएको छ ।
‘यो सरासर नेपाल एअरलाईन्सको चरम लापरवाही हो, अध्यागमन पास भइसकेको पेसेन्जरलाई जुनसुकै उपाय लगाएर पनि खोजी गरेर लैजानु पर्ने जिम्मेवारीबाट पन्छिएर नेपाल एअरलाईन्सले चरम लापरवाही देखाएको छ’, नेपाल एम्वेसीका एक कर्मचारीले भने, ‘यो घटनालाई सामान्य रुपमा लिइनु हुँदैन, छानविन जरुरी छ ।’ ती कर्मचारीका अनूसार शनिबार फेला परेको व्यक्तिलाई आईतबारकै उडानमा फिर्ता लैजानु पर्नेमा त्यो पनि नगरीनु अर्काे गैरजिम्मेवारीपन हो ।
नन्दलाल गणेश २०१४ अक्टोबर ३० तारेखका दिन मलेसियाको जेसीवाई कम्पनीमा काम गर्न गएका हुन् । सँगै काम गर्ने साथीका कारण पर्न गएको समस्याले मानसिक समस्यामा पारेपछि उनलाई पठाउने मेनपावर कम्पनीकै आग्रहमा कम्पनीले फिर्ता गरिदिएको हो ।
एउटै कम्पनीमा काम गर्ने अरु २४ जनाको साथ लागेर आएका उनी अचानक विमानस्थलमा अलमलमा परेपछि छुटेका थिए । उनीसँगै नेपाल फर्केका साथीहरुका अनुसार विमानस्थलमा छुटेका नन्दलालको आवश्यक खोजतलास क्वालालम्पुर विमानस्थलमा भएको थिएन । ‘माइकबाट अंग्रेजीमा उसको नाम लिएर त फुकेको थियो तर, विचरा ! उसले बुझेन होला कि ? आउने बाटो नै देखेन ?’ सँगै आएका साथीले गुनासो गरे ।















प्रतिक्रिया