
दमासकस (सिरिया), १३ फागुन । गएको करिब पाँच वर्षदेखि चरम हिंसाको चपेटामा फसेको मध्यपूर्वी राष्ट्र सिरियामा युद्धविरामका लागि दबाब बढिरहेको बताइएको छ ।
संयुक्त राज्य अमेरिका र रसियाले सिरियामा आगामी शनिबारदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरेका थिए । त्यस विषयमा विपक्षीका तर्फबाट कुनै आधिकारिक धारणा नआएको भए पनि प्रस्तावको विरोध भने गरेको छैन ।
यी दुई देशले सिरियाली सरकार र त्यहाँका विपक्षी एवम् विद्रोही समूहलाई शान्तिपूर्ण रुपमा समस्याको समाधानका लागि आगामी शनिबारदेखि युद्धविरामका लागि तयार रहन आग्रह गरेका हुन् ।
सरकार र विद्रोही पक्षलाई सो प्रस्ताव गरिएको अमेरिकी विदेशमन्त्रालयले बुधबार जानकारी दिएको समाचारमा जनाइएको छ । यस युद्धविरामको पालना गर्ने विषयमा सरकार सहमत भइसकेको छ भने विपक्षीहरु बोलेका छैनन् ।
सो प्रस्तावका पक्षमा परिस्थिति निर्माण गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उक्त देशलाई आग्रह गरेको छ । १५ सदस्यीय परिषदका तर्फबाट बुधबार सो आग्रह गरएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार यसअघि देखि नै यी दुई देशले सिरियामा शान्ति स्थापनाका लागि पहल गरेका र सोही प्रयोजनका लागि युद्धविराम प्रस्ताव गरिएको हो ।
तर यस आग्रहका विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामा भने सजग र सचेत रहेको बताउनुभएको छ । यस विषयमा प्रतिक्रिया दिँदै बुधबार उहाँले भन्नुभयो– यस विषयमा हामी सचेत र सजग छौँ, युद्धविरामको पालना हुने विषयलाई हामी बडो सावधानीपूर्वक हेरिरहेका छौँ ।
यस प्रस्तावपछि पनि विश्लेषकहरुले भने सिरियामा आइएसको आतङ्क जारी नै रहेको र भूमिगत संगठनका रुपमा आतङ्क मच्चाएको आइएस र अल नुस्रा फन्ट नामक संगठनका कारण हिंसा नरोकिन सक्ने जनाएका छन् ।
यस प्रस्तावमा उनीहरु पर्दैनन् र ती संगठनहरुले यसको पालना गर्छन् नै भन्ने पनि छैन । सिरियामा गएको वर्षदिनदेखि आइएसको आक्रमण हुदै आएको छ ।
उता गएको पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले पनि यस युद्धविरामका लागि शर्त राखेका बताइएको छ । उनीहरुले सिरियामा सरकारी सैनिकको ज्यादति रोक्न माग गरेका छन् ।
अमेरिका र रसियाले यस युद्धविरामलाई सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको पहल भन्दै यदि युद्धविराम लागू भएमा यसले त्यहाँ अप्ठेरोमा बाँचिरहेका नागरिकलाई खाद्यान्न लगायतको अत्यावश्यकीय वस्तुको आपूर्तिका लागि सहयोग पुग्ने पनि बताएका छन् ।
केहीदिन अघि जर्मनीमा भएको विश्वका विभिन्न देशका गृहमन्त्रीहरुको बैठकमा सिरियामा शान्ति स्थापनाका लागि दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गर्ने सहमति भएको थियो । सोही कार्यक्रमबमोजिम यी दुई देशको पहलमा यो प्रस्ताव आएको हो ।
राष्ट्रपति असद सहमत
यसैबीच सिरियाली राष्ट्रपति बसर अल असदले भने सो युद्धविरामका लागि आफू सहमत रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।
उहाँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी रसिया र अमेरिकाका तर्फबाट आगामी शनिबारदेखि युद्धविराम गर्न गरिएको आदेशको पालना गर्ने जानकारी दिनुभएको क्रेमलिनले जनाएको छ ।
साथै उहाँहरुबीच विपक्षीहरुको आन्दोलन रोक्नुका साथै अगामी दिनमा सिरियाका विभिन्न अतिवादी समूहहरुका तर्फबाट जारी हिंसाको अन्त्यका लागि पनि पहल गर्नुपर्ने विषयमा सहमति भएको बताइएको छ ।
सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी नै रहेको छ । त्यहाँको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको छ ।
सिरियामा शान्ति स्थापनाका लािग विभिन्न प्रयास भएका छन् । यस अघि पनि त्यहाँ शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ, साउदी अरेबियालगायतले वार्ताको प्रयास गर्दै आएका थिए । तर सो प्रयास सार्थक हुन सकिरहेको छैन । रासस/एएफपी















प्रतिक्रिया