काठमाडौं, १२ फागुन । विदेशमा अध्ययनका लागि परामर्श दिने व्यवसायीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पर्सी फागुन १५ गते हुने निर्वाचनका लागि मंगलबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । वर्तमान उपाध्यक्षद्वय सरोजकुमार बस्नेत र प्रकाश पाण्डेले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
यद्यपि बस्नेतले भने राजनीतिक भाषामा प्रयोग गरिने शब्द ‘प्यानल’ नभई व्यवसायीहरुको समूह घोषणा गरेको बताएका छन् । यो समूहले बुधबार बानेश्वरमा भेला पनि गरेको थियो ।
भेलामा इक्यानका अध्यक्ष राजेन्द बराल, निवर्तमान अध्यक्ष दीपक गुरुङ, पूर्व उपाध्यक्ष धीराज शर्मा, सल्लाहकार महेश कार्की, सल्लाहकार समितिका सभापति अरुण लामिछाने, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीलगायतको उपस्थिति थियो ।
यसरी पूर्व अध्यक्ष तथा पूर्व उपाध्यक्षहरुले बस्नेत समूहलाई समर्थन गरेपछि पाण्डे समूह भन्दा बस्नेत समूह तुलनात्मक रुपमा बलियो मानिएको छ । बस्नेत समूहले १४ बुँदे एजेण्डासहित घोषणापत्र पनि सार्वजनिक गरेको छ ।
नयाँ कार्यसमितिका अध्यक्षका दावेदार बस्नेत अग्रज व्यवसायी र प्रभावशाली मानिन्छन् । उनी नेटकोटेकका सञ्चालक हुन् । बस्नेतको समूहबाट उपाध्यक्षमा महेशबाबु तिमिल्सिना, राजेन्द्र रिजाल र निरज सिटौला (भुपेन्द्र) ले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका यि तिनै जना संगठनमा बलिया दाबेदार मानिन्छन् । तिमिल्सिना कंगारु एजुकेशन फाउण्डेसनका सञ्चालक हुन् भने रिजाल काठमाडौं इन्फोसिस र सिटौला एजुकेशन पार्कका सञ्चालक हुन् ।
बस्नेत समूहबाटै पोखराका महेश भण्डारीले महासचिव पदमा उम्मेदवारी दिएसँगै इक्यानको चुनाव थप रोचक बन्न पुगेको छ ।
भण्डारीले इक्यान कास्कीमा लगातार ३ पटकसम्म नेतृत्व गरिसकेका छन् । उनी इक्यानको इतिहासमै काठमाडौं बाहिरबाट संस्थाको महासचिव पदमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुन् । भण्डारी किंग्स इन्स्टिच्यूटका निर्देशक तथा सञ्चार उद्यमी पनि समेत हुन् ।
त्यस्तै, सचिवमा उमेश ढुंगेल र रजनी श्रेष्ठ, कोषाध्यक्षमा भरत रेग्मी र सहकोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
सदस्यमा बस्नेत समूहबाट सूर्यबहादुर डाँगी, कमला बस्नेत, डिआर थापा, रमेश थापा (पोखरा प्रतिनिधि), रिता तण्डुकार, प्रशान्त साह, रमेश जोशी, विक्रम केसी प्रतिस्पर्धामा छन् ।
उता आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रकाश पाण्डेको समूहले उम्मेदवारी घोषणा गरेको थियो । मेट्स एजुकेशनका सञ्चालक पाण्डे कन्सलटेन्सीको क्षेत्रमा अग्रणी व्यवसायी हुन् ।
उनको प्यानलबाट विष्णुहरि पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराई उपाध्यक्षका उम्मेदवार बनेका छन् । महासचिवमा भने कमन फाउण्डेसनका सन्तोष प्याकुरेल उम्मेदवार बनेका छन् ।
सचिवमा श्रीराम पौडेल र देवीदास भट्टराइलाई उम्मेदवार बनाइएको छ । कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बू र सह–कोषाध्यक्षमा रमेश वाग्ले पाण्डे प्यानलका उम्मेदवार हुन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा गोविन्द अधिकारी, दीपकराज भुसाल, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ (बिके), प्रदीप मण्डल, प्रकाश श्रेष्ठ र यज्ञविलाश पौडेल उम्मेदवार बनेका छन् । पाण्डे प्यानलले २१ बुँदे घोषणपत्र सार्वजनिक गरेको छ ।















प्रतिक्रिया