
– नरेश केसी
भैरहवा, १२ फागुन । विश्व पर्यटनको केन्द्र लुम्बिनीमा बातावरण प्रदुषण नहोस् भन्ने हेतुले विदेशी दातृ निकायले लुम्बिनीमै सन्चालन गर्नेगरी अनुदान दिएको वातावरणमैत्री रिक्सा कबाडी सरह एक वर्षदेखि एकै ठाउँ थन्किएका छन् ।
विदेशी दातृ निकाय कोईका (कोरियन ईन्टरनेशनल को.अपरेशन एजेन्सी)ले अनुदान स्वरुप लुम्बिनीको लागी ७० वटा रिक्सा सहयोग गरेको थियो । तर ती रिक्सा सन्चालनमा ल्याउनुको साटो लुम्बिनी विकास कोषले विगत १ बर्षदेखी फलामे सिक्री बाँधेर राखेको छ ।
कोइकाले दिएको रिक्सा अहिले अन्तराष्ट्रिय संग्रहालय परिसर र विश्व शान्ति द्विपको छेउमा थन्क्याएर राखिएको छ । मुलुकभर पेट्रोलियम पदार्थको अभाव भईरहेको बेला ती रिक्सा सञ्चालनमा ल्याएको भए एकातिर पर्यटकलाई कत्ति सहज हुने थियो भने अर्कोतिर लुम्बिनीको वातावरणमा प्रदुषण पनि हुने थिएन ।
लुम्बिनीमा प्रदुषण रहित रिक्सा सञ्चालनमा ल्याई त्यहाँ आउने पर्यटकहरुलाई सहज रुपमा यात्रा गराउने उद्देश्य राखी दातृ निकाय कोईकाको सहयोगमा आएको रिक्सा सञ्चालनमा आउन नसक्दा कोइका पनि लुम्बिनी विकास कोषसँग रुस्ट भएको बुझिएको छ । चीनमा निर्मित ७० वटा विद्युतीय रिक्सा नेपालमा ल्याएर काठमाण्डौको फेदर सलुसनले एसेम्बल्ड गरी कोईकालाई १ बर्ष अघि नै हस्तान्तरण गरिसकेको थियो । तर विभिन्न बहाना बनाई लुम्बिनी विकास कोषले बातवरणमैत्री रिक्सा सन्चालनमा ल्याउन दिएको छैन ।

रिक्सा नचल्दा वातावरणमैत्री रिक्सा सन्चालनको लागी तालिम लिएका रिक्सा चालकहरुलाई बिहान बेलुकाको हातमुख जोर्न धौ धौ भएकोछ । तालिमे रिक्सा चालकहरु दिनभरी सिक्रीले बाँधिएको रिक्सा हेर्ने र त्यहाँ आउने जो कोहीलाई पनि आफ्नो गुनासो सुनाउदैं रिक्सा चल्ने वातावरण बनाईदिनुहुन भनी आग्रह गरेका देखिन्छन् । करिब १५ महिना अघि ई रिक्सा चलाउने तालिम लिएका बिष्णुपुरा गाविस गिदहियाका मुन्निराम गौतमको दिनचर्या दिनभरी थन्काइएका रिक्सा हेर्ने भएको छ । उनी भन्छन् “के गर्नु सर पहिले अर्को रिक्सा चलाउँथे । दैनिक ४, ५ सय कमाई पनि हुन्थ्यो । यो (वातवरणमैत्री) ई–रिक्सा चलाउने तालिम लिएको अहिले १५ महिना भईसक्यो । खै कहिले चलाउन पाइने हो ?”
लुम्बिनी आउने पर्यटकहरुलाई हाते रिक्सामा घुमाउँदै आएका गौतमले पहिले दैनिक ४/५ सय कमाएर आफ्नो र आफू आश्रित परिवारको पेट पाल्दै आईरहेका थिए । तर ई–रिक्सा चलाउने तालिम लिएपछि अहिले उनलाई छोराछोरी पढाउन तथा घर खर्च धान्न झन् समस्या सृजना भएको छ । गौतम जस्तै सत्तरी जना ई–रिक्सा चालकको रोजीरोजी अहिले संकटमा परेको छ । लुम्बिनी महामाया रिक्सा चालक संघका सचिव समेत रहेको भैया भनेर चिनिने जलाल अहमदले दुखेसो पोख्दै भने “ई रिक्साको नाममा हाते रिक्सा पनि चलाउन दिँदैनन्, ई रिक्सा पनि कहिले सञ्चालन हुन्छ ? त्यो पनि स्पष्ट गर्दैनन् । यहाँ भएका ई–रिक्सा पनि कबाड हुन थाले, कयौंका ब्याट्री छैनन् । ”
लुम्बिनी विकास कोषको पदाधिकारीको कारण रिक्सा व्यवसायमा आश्रित परिवारहरु वैकल्पिक पेशाको खोजीमा समेत लाग्दै गएको उनले बताए । लुम्बिनीमा वातावरण मैत्री रिक्सा चलाउनको लागी भन्दै १५ अघि कोइकाले तालिम सञ्चालन गरेको थियो । सो तालिममा १ सय ५० जना सहभागी भए । एकातिर तालिमे रिक्सा चालकहरु बेरोजगार भएर दिनभरी भौतारिँदै हिँडिरहेकाछन् भने अर्कोतिर लाखौंका सयौं रिक्साहरु कबाडमा थन्किएका छन् ।

सरकारले लुम्बिनीको पर्यटन प्रबद्र्धनको लागी विभिन्न कार्यक्रम गरिरहेको छ । असोज २४ गते गठन भएको सरकारका प्रधानमन्त्री के.पी ओली नेतृत्वका सरकारी उच्च स्तरीय टोलीले यही फागुन २ गते लुम्बिनीको अवलोकन समेत गरेको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासमा कुनै अवरोध र विलम्ब क्षम्य नहुने भनेर भने तर विकास कोषका पदाधिकारी त्यसलाई एक कानले सुन्ने र अर्को कानले उडाउने ध्याउन्नमा छन् । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका पर्यटन तथा संस्कृति मन्त्री आनन्द पोखरेलले २, ३ पटक लुम्बिनी नै आएर वातावरण मैत्री रिक्साको बारेमा चासो पनि प्रकट गरे । मन्त्री पोखरेलले वातावरणमैत्री रिक्सा सञ्चालनमा आएको अवरोधलाई हटाउने भनेर प्रतिबद्धता पनि जनाएका थिए । हालका मन्त्री पोखरेलले मात्रै होइन यस अघिका संस्कृति मन्त्री कृपासुर शेर्पाले समेत बातवरणमैत्री रिक्सा सन्चालन गर्ने जनाएका थिए । सरकारका प्रधानमन्त्री र मन्त्रीको निर्देशनलाई समेत लत्याउँदै विकास कोषका पदाधिकारी कुनैपनि हालतमा रिक्सा सन्चालन गर्न नदिने सोंचमा रहेको बुझिएको छ । कोषका सदस्यसचिव अजितमान तामाङले कोइकाले रिक्सा हस्तान्तरण गर्न खोज्दा समेत लिन हिच्किचाईरहेका छन् । स्रोतका अनुसार सदस्यसचिव तामाङले ठूलो आर्थिक सहयोग मागेका थिए तर कोइकाले दिन नमानेपछि कोइकाले दिएको वातावरणमैत्री रिक्सा यत्तिकै थन्काएर कबाड बनाईदिने भन्दै दिनेभन्दै हिडेको पनि कोषकै कर्मचारीले जनाएका छन् ।
आफुलाई सबै विषयको ज्ञाता ठान्ने सदस्यसचिव तामाङ वि.सं २०६९ सालमा तत्कालिन पर्यटनमन्त्री पोस्टबहादुर बोगटीलाई नुवाकोटे साइनो लगाई लुम्बिनी आएका हुन् । विद्युत प्राधिकरणमा सामन्य तहको जागिरे जीवन विताईरहेका तामांग लुम्बिनीमा सदस्यसचिव भएर आएलगत्तै विभिन्न आर्थिक मामिलामा हस्तक्षेप पनि गरे । तामांगकै कारण कोषका उपाध्यक्ष आर्चाय कर्मा साङबो शेर्पाले समेत पदबाट राजिनामा दिए । अहिले उपाध्यक्ष भएर आएका भिक्षु निगरोध र कोषाध्यक्ष ओम अर्याललाई समेत साईड लगाएर सदस्यसचिवले आफुखुसी काम गरिरहेका छन् । यहासम्मकी विकास कोषले कार्य समिती सदस्यमा मनोनित गरेका सदस्यहरुलाई समेत विवादीत बनाउदैैं सदस्यसचिवकै डिजाईनमा अदालतमा मुद्धा हाल्ने समेत काम भएको छ ।
आफ्नो दूनो सोझ्याउनकोलागी जस्तोसुकै काम गर्न पनि पछि नपर्ने प्रवृतिका तामांगले पहिले एमाले बरिष्ठ नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई रिझाई उनी मार्फत तत्कालीन पर्यटन मन्त्री दिपक अमात्य, कृपासुर शेर्पासँग नजिकिई मन्त्रालयलाई आफु अनुकुल प्रयोग गर्ने गरेका थिए । स्मरण रहोस् अमात्य खनालका स्वकीय सचिव समेत हुन् । अहिले पनि सदस्य सचिवले पुरानै कार्ड प्रयोग गरिरहेको बुझिएको छ । कोइकाले वातावरणमैत्री रिक्साको सबै डकुमेन्ट सदस्यसचिवलाई दिएको भएता पनि ती डकुमेन्टलाई उनले लुकाईछिपाई राखेको बुझिएको छ ।
यता लुम्बिनीमा डब्लु डब्लु एफ लगायत विदेशी दातृ निकायले वृक्षारोपणकोलागी दिएको लाखौं रकम त्यत्तिकै खरानी भएको छ । वर्षेनी लुम्बिनीमा लाखौं रुपैयां विदेशी दातृ निकायले त्यहां वृक्षारोपण गर्न दिएता पनि पछिल्लो समय अख्तियारले त्यहांको फाइल खोजी वृक्षरोपणको रेकर्ड खोज्न थालेपछि विकास कोषका कर्मचारी र पदाधिकारीले प्रमाण नष्ट गर्न वृक्षारोपण भएको ठाऊमा आगजानी गरेका छन् । अझै अचम्मको कुरो त के छ भने भारत भ्रमणमा जानु अघि दलबल सहित प्रधानमन्त्रि लुम्बिनी आएको बेला पनि लुम्बिनी क्षेत्रमा आगजानी भईरहेको थियो । उपप्रधानमन्त्रि टोपबहादुर रायमाझी, अर्थमन्त्रि विष्णु प्रसाद पौडेल ,श्रम तथा रोजगार मन्त्री दिपक बोहरा र संस्कृति तथा पर्यटन मन्त्रि सहित प्रधानमन्त्री के.पी शर्मा ओलीले लुम्बिनीको अवलोकन गरिरहदा छेऊमै डढेलोको मुश्लो प्रस्टै देखिन्थ्यो तर त्यस बारेमा न प्रधानमन्त्रिले न मन्त्रिले चासो राखे नत विकास कोषका पदाधिकारीले जानकारी नै गराए । यसरी लुम्बिनीमा हराभरा नष्ट गर्न विकास कोषका पदाधिकारी नै डढेलो झोस्न व्यस्त छन् ।
यो सबै घटनाले के देखाउंछ भने लुम्बिनीको योजनाबद्ध विकासमा खटाइएका पदाधिकारी तथा कर्मचारी नै लुम्बिनीमा वातवरण प्रदुषण गर्नमा उद्धत देखिएका छन् । एकातिर लुम्बिनीमा डढेलोले वातवरण प्रदुष्ण गरिरहेको छ भने अर्कोतिर वातवरण मैत्री रिक्सा चलाउन प्रतिबन्ध लगाइएको छ । जसबाट एकािितर लुम्बिनीको विकासमा आएको लाखौं रकम खरानी भएको छ भने अर्कोतिर दातृ निकायमा अविश्वास पैदा सृजना गरेको छ । तर यति हुदा हुदैं पनि विकास कोषका सदस्य सचिव अजित मान तामांग लगायतका कर्मचारी हप्तामा ३, ४ पटक काठमाण्डौं भैरहवा , भैरहवा काठमाण्डौं उड्न व्यस्त छन् । रातभरी काठमाण्डौं र लुम्बिनीका स्टार होटलमा चौरासी व्यञ्जन सहित ज्यूनार गर्न व्यस्त देखिन्छन् । नैतिकता भएको भए उहिल्यै आफै राजिनामा दिएर अर्को काम गर्नुपर्नेहरु अझै कानुनी लचकताको फाइदा उठाउदै लुम्बिनीको नाममा लाखौं कमाउने ध्याउन्न मा छन् ।















प्रतिक्रिया