
बेइजिङ (चीन), १० फागुन । चीनले संयुक्त राज्य अमेरिकालाई ‘ताइवान स्वतन्त्रता पक्षधर’ शक्तिहरुलाई गलत समाचार सम्प्रेषण नगर्न सोमबार चेतावनीसहितको आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्नाइङले के चिनियाँ विदेशमन्त्री वाङ यीको अमेरिका भ्रमणमा अमेरिकी पक्षलाई ‘स्वतन्त्र ताइवान’ का विषयमा वासिङटनको धारणालाई पुनःविचार गर्न अनुरोध गरिनेछ भन्ने प्रश्नको जवाफमा प्रवक्ता हुवाले स्वतन्त्र ताइवानबारे भ्रामक सन्देश नपठाउन अनुरोध गर्ने बताउनुभयो ।
ताइवान चीनबाट छुट्टिएको टापु देश हो । ताइवानलाई जतिबेला पनि कब्जा गर्ने चेतावनी बेला बेला चीनले दिँदै आएको छ । तर, अमेरिकाले बाधा पुगाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकी विदेशमन्त्री जोन केरीको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङले तीनदिने (मङ्गलबारदेखि बिहीबारसम्म) औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
प्रवक्ता हुवाले ताइवान विषयमा चीन अमेरिका सम्बन्धमा एकदमै महत्वपूर्ण तर संवेदनशील विषय भएको बताउनुभयो । उहाँले अमेरिकालाई ‘एक चीन नीति’ लाई समर्थन गर्दै चीन अमेरिका संयुक्त सम्झौतालाई समर्थन गर्न र स्वतन्त्र ताइवानको विपक्षमा उभिन आग्रह गर्नुभयो ।
अमेरिकाले ताइवान क्षेत्रमा शान्तिपूर्ण विकासका पक्षमा ठोस निर्णय लिई अमेरिका चीन सम्बन्धलाई थप मजबुत पार्नुपर्ने प्रवक्ता हुवाले बताउनुभयो । रासस/सिन्ह्वा















प्रतिक्रिया