७ कार्तिक २०८३, शनिबार

एमाओवादी छाडेका यिनीहरुले बाबुरामलाई किन धोका दिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

काठमाडौं । एमाओवादी त्यागेर नयाँ शक्ति निर्माणमा लागेका डा. बाबुराम भट्टराईको मिडियासँगको आसक्ति पुरानै हो । उनी अक्सर मिडियाको उपयोग गर्न चुक्दैनन्, सजिला र अप्ठ्यारो दुवै अवस्थामा उनी भरमग्दुर यसको प्रयोग गरेरै छाड्छन् ।

.कुनै बेला नेपाल पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिसमेत रहेको पुराना पत्रकार , राम्रो स्तम्भकार रहेका बाबुराम समकालीन राजनीतिमा यस्ता ‘मिडियाफ्रेन्डली’ नेता हुन् जसले मिडियालाई खासै चिढ्याउने गरेका छैनन्, यसको उपयोगमा नै बुद्धिमानी हुने ठहरसहित व्यवहार गर्ने गरेका छन् ।

तर, उदेक लाग्दो कुरा मिडियाको महत्त्व र मूल्य बुझेका यिनै भट्टराईसँग अहिले उनलाई समर्थन गर्ने पत्रकारको भने खडेरी परेको छ । नौतिरका मान्छेहरु भेला पारेर नयाँ शक्तिको ‘खिचडी’ पकाउने ध्याउन्नमा रहेका बाबुरामको नयाँ शक्तिमा यतिबेला देखिने गरी नाम चलेका कुनै पत्रकार पनि लागेका छैनन् । अचम्म त के छ भने भट्टराईले नयाँ शक्ति निर्माण अभियान घोषणा गरेलगत्तै सल्बलाएका केही नाम मात्रका पत्रकारहरुले पनि अहिले बाबुरामलाई उपियाँले मरेको कुकुरलाई छाडे जसरी त्यागेका छन् ।

भट्टराईलाई जनयुद्धकालदेखि नै सघाउँदै आएका जनादेश साप्ताहिक (हाल बन्द) का सम्पादक तथा प्रकाशक मनऋषि धितालले नयाँ शक्तिको पत्रकारहरु संगठित गर्ने जिम्मा पाए पनि उनी हठात् पछि हटेको खबर छ । नयाँ शक्ति निर्माण घोषणालगत्तै भट्टराईले बोलाएर पत्रकार सम्हाल्ने जिम्मा दिएपछि उत्साहित भएका मनऋषिले केही समय यसका लागि पहल पनि गरेका थिए । स्रोतका अनुसार मनऋषिले नयाँ शक्ति निर्माण अभियानभित्र पत्रकारलाई गोलबद्ध गर्न काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएमको कार्यालयमा पटक–पटक एमाओवादीमा रहँदा बाबुरामनजिक भनेर चिनिएका र अन्य पत्रकारहरुलाई बोलाएर छलफल पनि गराएका थिए । तर, धिताल आफैंले ‘लालध्वज बिनाको बाबुरामसँग सहकार्य गर्न नसकिने’ भनेर एक लेखमार्फत बाबुरामसँग सम्बन्ध बिच्छेदको घोषणा गरेपछि बाबुरामको नयाँ शक्तिमा पत्रकारहरुको नेतृत्व गर्ने खम्बा मात्रै भाँचिएको छैन, पत्रकारहरु भेट्न नै मुस्किल भएको छ । ‘पदमा कुरा नमिलेको र प्रचण्डले केन्द्रीय सदस्यको ललिपप देखाएपछि धितालले नयाँ शक्तिलाई धोका दिएको’ आरोप बाबुरामको नयाँ शक्तिले लगाए पनि धितालले कम्युनिष्ट छाडेकाले बाबुरामको नयाँ शक्तिमा लाग्न नसकिएको स्पस्टीकरण दिइसकेका छन् । धिताल हाल अस्ट्रलियामा रेडियो सञ्चालनमा व्यस्त रहेको बताइन्छ ।

उता, धितालसँगै नयाँ शक्तिको पत्रकारहरु संगठित गर्न लागेका पत्रकार महासंघ, ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले पनि ‘नयाँ शक्तिले गरिखाने छाँट देखाएन’ भन्दै हात झिकेका छन् । सुरुका दिनमा नयाँ शक्तिका पत्रकारहरु संगठित गर्न सक्रिय देखिएका न्यौपाने हाल एमाओवादीकै गतिविधिमा सक्रिय रहेको बताइन्छ ।

स्रोतका अनुसार अहिले बाबुरामको नयाँ शक्तिमा रुद्र भट्ट र धादिङका पत्रकार सुदर्शन खतिवडा मात्रै खुलेर लागेका छन् । जिल्लामा साप्ताहिक पत्रिका सञ्चालन गरेका केही पत्रकारको निम्छरो उपस्थितिबाहेक नयाँ पत्रिकामा आशालाग्दा पत्रकार लागेका छैनन ।

एमाओवादीमा रहँदा नजिक रहेका पत्रकारहरु एकाएक बाबुरामबाट टाढिएपछि र अन्य पत्रकारहरु पनि नयाँ शक्तिप्रति आकर्षित नभएपछि भट्टराई निरास भएको बताइन्छ । स्रोतका अनुसार सानेपा निवासमा भट्टराईले आफूनजिकका सँग ‘मिडियामा हाम्रा मान्छे भएनन्, के गर्ने होला’ भनेर बिलांैना गर्ने गरेका छन् ।

यीनले राख्छन् बाबुरामप्रति सहानुभूति

बाबुरामको नयाँ शक्तिमा खुलेर नलागे पनि केही मूलधारका पत्रकारहरुले बाबुरामको नयाँ शक्तिप्रति सहानभूति राख्दै आएका छन् । स्रोतका अनुसार बाबुरामको नयाँ शक्तिमा कान्तिपुर दैनिकका प्रधानसम्पादक सुशीर शर्माकासाथै अनलाइन खबरका संस्थापक तथा प्रधानसम्पादक धर्मराज भुसाल, सम्पादक अरुण बरालको सहानुभूति रहेको दाबी गरिन्छ ।

स्रोतका अनुसार ‘समावेशी मासिक’ पत्रिका सञ्चालन गर्दै आएका पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका खिलबहादुर भण्डारीले पनि भित्रभित्रै नयाँ शक्तिलाई सहयोग गर्ने गरेका छन् । भण्डारीले पत्रकारहरुलाई एमाओवादीले अब गरिखाँदैन, पछि जाने त्यही हो भन्दै पत्रकारहरुलाई नयाँ शक्तिमा लाग्न सुझाव दिने गरेका छन् । यद्यपि, उनी अहिलेसम्म खुलेरै एमाओवादीको पक्षमा लागेका छन् । साँघु साप्ताहिकमा खबर छ ।