
काठमाडौं, १० फागुन । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थी राजु भण्डारीले झुन्डिएर आत्महत्या गरेका छन् ।
राजधानी सिड्नीको पश्चिम क्षेत्रस्थित ग्रेनभिलको ५२ ओनेल स्ट्रिटमा बस्दै आएका भण्डारीले शनिबार आफ्नै कोठाको झ्यालमा डोरीको पासो लगाएर आत्महत्या गरेको उनका साथी सबन भट्टराईले जानकारी दिए । उनले नै झुण्डिएको अवस्थामा भण्डारीलाई देखेका थिए ।
भट्टराईले छिमेकी र घरधनीलाई जानकारी गराएका थिए । पछि स्थानिय प्रहरीले बन्दकोठाको ताल्चा फुटाएर कोठाको ढोका खोलेको थियो । मृतक भण्डारीको शव परिक्षणको लागि सिड्नीको एक अस्पतालमा राखिएको छ ।
२ वर्षअघि अष्ट्रेलिया पुगेका भण्डारी स्थानीय एक शैक्षिक संस्थामा स्नातक तहमा अध्ययनरत थिए । यसअघि गत साता सिड्नीमै अध्ययनरत विद्यार्थी मिलन अधिकारी पनि मृत अवस्थामा फेला परेका थिए ।
एनआरएन आईसिसी सदस्य एवं स्थानीय बासिन्दा केशव सापकोटाले घटनाबारे काठमाडौंमा रहेको भण्डारी परिवारलाई जानकारी गराएका छन् । परिवार र आफन्तहरुको चाहना अनुसार भण्डारीको शव दाहसंस्कारका लागि काठमाडौं पठाउने तयारी भएको सापकोटाले जानकारी दिए ।












प्रतिक्रिया