
अखिलको निर्वाचनमा नवीना लामाको टिम भारी मतका साथ जितेको छ, एउटा पक्षले बाजी मारिरहँदा अर्को पक्षबाट पदाधिकारीमा जम्मा तीन जना निर्वाचित भएका छन् । आखिर जो निर्वाचित भएपनि अनेरास्ववियू नै आएको छ, अर्थात एमालेको विचार नै जितेको छ । अनेरास्ववियूले नै जितेको छ । हो, पार्टीमा नेताहरुले जसरी गुटको खेती गरे, त्यही गुटको झल्कोमात्र अखिलमा देखिएको हो । नत्र पक्ष या बिपक्ष, गुट वा उपगुट हुनुपर्ने जरुरत नै थिएन् । आफ्नै कमरेडले जितको माला पहिराउँदा अर्कोले पीडा र छटपट्टी सहनुपर्ने अवस्था रहने थिएन् । पार्टीभित्र अर्को पार्टी चलाउने संस्कारले हामीलाई कही पुराउँदैन भन्ने उदाहरण अखिलको निर्वाचनले दिएको छ । जित्नेहरु खुसी मनाउँदै होलान्, हार्नेहरु गम्भीर चिन्तामा होलान् । अझ उनीहरुलाई उठाउने नेताहरुलाई झनै ठूलो छट्पट्टी भएको होला । तर, अखिलको यो निर्वाचनबाट एमालेले जनसंगठनलाई कसरी अगाडि लैजाने, जनसंगठनमा सबैले जितेको महसुस गर्न पाउने अवस्था कसरी सिर्जना गर्ने भन्ने गम्भीर बहस एमालेभित्र हुनु जरुरी छ । हुन त नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण र अग्रणी संगठन अनेरास्ववियुको इतिहासमा यो अनौठो र अपत्यारिलो विषय भएन । तर, नेतृत्व चयनका लागि प्रकृया शुरु भएसम्म पनि प्रतिनिधि टुंगो नलाग्नु अखिलको विद्वता र नेतृत्व क्षमतामा प्रश्न चिन्ह भने खडा भइसकेको छ ।
जे भए पनि अब आउने नेतृत्वको काँधमा अखिलको बचेंखुचेका शाख जोगाएर अहिले विद्यार्थी आन्दोलनमा देखिएको विचलन र दिशाहिनतालाई ट्रयाकमा ल्याउने महत्वपूर्ण जिम्मेवारी आएको छ । अखिलको नेतृत्वमा जो आए पनि पात्र फरक पर्दैन । तर, कतिपय अवस्थामा आउनु पर्ने पात्र पराजित हुँदा सिंगो संगठन मात्र होइन, विद्यार्थी आन्दोलनको दिशा तयमा पनि अक्सर असर गर्छ ।
अहिले आउने नेतृत्व जुन खेमा वा गुटका भए पनि खारिएका र विद्यार्थी आन्दोलनको औचित्य स्थापित गर्न सक्ने व्यक्ति नै छन् भन्ने विश्वास गर्नुको विकल्प पनि छैन । तर, विश्वास गर्नेभन्दा पनि अबको अखिलमा आएका नेतृत्वले आगामी कार्यभार सम्हालन सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण प्रश्न हो । जुन समयमा अखिलको नयाँ नेतृत्व चयन भएको छ, यतिबेला विद्यार्थी आन्दोलनका नाममा कतै अराजकता, भ्रष्टाचार, कतै गुण्डागर्दी चलिरहेको छ । विद्यार्थी संगठनका नाममा गैरविद्यार्थी र विद्यार्थी आन्दोलनका नाममा हुने गैरप्राज्ञिक भीड र होहल्लाले विद्यार्थी आन्दोलनमाथि विभिन्न आरोपहरु लाग्दै आएका छन् । विद्यार्थी आन्दोलन शैक्षिक सुधार, जनजीविकासँग जोडिएका सवालमाभन्दा पार्टीका एजेण्डा अझै गुट उपगुटका अभियान चलाउन केन्द्रित हुँदा कुनै बेला विद्यार्थी आन्दोलनले पाउने अथाह समर्थन र त्यसको जनमत विरोधमा देखिन थालेको छ ।
आखिर जो निर्वाचित भएपनि अनेरास्ववियू नै आएको छ, अर्थात एमालेको विचार नै जितेको छ । अनेरास्ववियूले नै जितेको छ । हो, पार्टीमा नेताहरुले जसरी गुटको खेती गरे, त्यही गुटको झल्कोमात्र अखिलमा देखिएको हो । नत्र पक्ष या बिपक्ष, गुट वा उपगुट हुनुपर्ने जरुरत नै थिएन् । आफ्नै कमरेडले जितको माला पहिराउँदा अर्कोले पीडा र छटपट्टी सहनुपर्ने अवस्था रहने थिएन् । पार्टीभित्र अर्को पार्टी चलाउने संस्कारले हामीलाई कही पुराउँदैन भन्ने उदाहरण अखिलको निर्वाचनले दिएको छ ।
यो अवस्थामा राजनीतिक आन्दोलनमा दलहरुलाई नेतृत्व प्रदान गर्ने विद्यार्थी आन्दोलन रसातलमा पुगेको छ । यसको मुख्य कारण, विद्यार्थी संगठन गैर विद्यार्थीहरुले कब्जा जमाउनु, पार्टी सत्तामा पुगेको सरुवा बढुवा, विकासका योजना र ठेक्कापट्टामा नेताहरु लाग्नु नै हो । यसले शैक्षिक क्षेत्रका विकृति विसंगतिहरु विरुद्ध जुझारु नेतृत्व खडा हुन नसक्दा क्याम्पस र विश्वविद्यालयहरु विचार उत्पादन गर्ने, वैकल्पिक आर्थिक, सामाजिक वा राजनीतिक, प्राविधिक, कूटनीतिक विषयहरूमा मूलधारको मात्र होइन, विकल्पसहित स्वच्छ बहस छलफल चलाउने स्थलभन्दा गैर प्राज्ञिक गतिविधीले आक्रान्त बनेका छन् । यस्तो अवस्थामा अनेरास्ववियुले आफ्नो अधिवेशनमा परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्र निर्माणको आधारः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार भन्ने नारा तय गरेको छ । नारा अत्यन्त उयुक्त छ । तर, तय गरिएका नारा अधिवेशन अवधिभर चर्चामा आउने अनि नेतृत्व तहमा कार्यन्वयन गर्न कार्ययोजनामा प्रवेशै नहुने रोगले सिकार हुने चलन नौलो होइन ।
अबको नेतृत्वले अखिलको नारा मात्र होइन बद्नाम हुँदै गएको विद्यार्थी आन्दोलनको अगुवाइ, अनुशासित र जुझारु संगठन निर्माण, स्ववियु निर्वाचनमा संठगका तर्फबाट नेतृत्व तहका नेताहरुको पहिचान र अभियान शुरुवात तत्कालै गर्नु पर्ने देखिएको छ भने क्याम्पस तहमा प्राज्ञिक बसहको शुरुवात् अखिलको नेतृत्वबाटै शुरु गर्नु पर्छ । अन्यथा अन्य संगठनभन्दा अनेरास्ववियुलाई फरक देखाउन हम्मे हम्मे पर्ने छ ।
विगतमा रविन्द्र अधिकारी, हिक्मत कार्की, खिमलाल भट्टराई, राजेन्द्र राई, यज्ञराज सुनुवार, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव ढुंगेलहरु राजनीतिक आन्दोलनको रापबाट स्थापित भएका हुन् । अहिले राजनीतिक आन्दोलन होइन शैक्षिक सुधारका आन्दोलन, प्राज्ञिक तथा बौद्धिक जनशक्ति र संगठन बनाएर स्थापित हुने बेला आएको छ । यस्तो अवस्थामा विद्यमान् विद्यार्थी आन्दोलन मनि, मसल्सको कब्जाबाट मुक्त गर्नु नै अखिलको नयाँ नेतृत्वको प्रधान कार्यभार हुनेछ । निर्वाचनले परेका चिरा मेटेर हारजितको महसुस नुहने गरी सबैलाई समेट्नु र पार्टीभित्रको गुटबाट मुक्त बनाएर संगठनलाई सशक्त बनाए मात्र यो कार्यभार पुरा गर्न सहज हुने छ, अन्यथा अखिलको नयाँ नेतृत्वका लागि सिंगो विद्यार्थी आन्दोलनको मूल प्रवाह बन्ने कुरा त परिकल्पना मात्र, आफ्नो शाख मात्रै जोगाउन पनि फलामको चिउरा चपाए सरह हुनेमा दुई मत छैन ।
अनेरास्ववियुका पूर्व नेता ढुंगाना ओखलढुंगाका क्रियाशिल पत्रकार हुन् ।















प्रतिक्रिया