१५ कार्तिक २०८३, आइतबार

विधि विधानमा कमजोर कांग्रेस, दोष कसको ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Paudelकाठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको १२ औं महाधिवेशनपछि पार्टी विधि विधानमै नचलेको यतिबेला कांग्रेसजनकै गुनासो छ ।

१२ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले महिनावारी गर्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठकदेखि वर्षमा एक पटक गर्नुपर्ने महासमितिको बैठक नै नडाकेको एक संस्थापन पक्षकै एक युवा नेताले गुनासो गरे । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘महासमितिको एउटा मात्रै बैठक नवलपरासीमा गरियो, त्यो पनि पिकनिक शैलीमा । केन्द्रीय समितिका हुनुपर्ने बैठक नै भएनन्, भएका पनि अधिकांब बालुवाटारमा कोठे बैठकका रुपमा सम्पन्न भए ।’

मुलककै जेठो र ठूलो लोकतन्त्रबादी पार्टीमा विधि विधानतः भातृ संगठनको निर्वाचन गरिनुपर्ने भएपनि अहिलेसम्मको नेतृत्वले १० वर्षको अवधिमा प्राय भातृ र भगिनी संगठनको निर्वाचन नै नगरेर युवापुस्ताको राजनीतिक भविश्य नै नष्ट पारेको युवा नेता नैनसिंह महरले गुनासो गरे ।

पार्टीका बैठक कति र कहिले भए ? वा औपचारिक र अनौपचारिक के भए भन्नेबारे स्पस्ट तथ्यांक नै नभएको पार्टी सचिवालयले जनाएको छ । सार्वजनिक हुने तयारीमा रहेको प्रतिवेदनमा उक्त कुरा उल्लेख हुने सचिवालयका सचिव प्रदिप पराजुलीले बताए ।

त्यति मात्र होइन तीन वर्षे कार्यकाललाई लम्ब्याएर साढे पाँच वर्षमा पुर्याइए पनि नेपाली कांग्रेसमा कतिपय कार्यसम्पादन समिति निर्माण नै गरिएनन् । संसदीय दल कार्य समितिनै बनेन । विभागहरु निर्माण हुन नसकेको तितो यथार्थप्रति पार्टी कार्यकर्ता र नेताले बेलाबखत गुनासो गर्दै आएका पाइन्छन् ।

पार्टीलाई लथालिंग र भताभुंग अवस्थामा चलाउन खोजिएको उदाहरण संसदीय दलको उपनेता नै नचुन्नुले पनि प्रमाणित गरेको एक संस्थापनकै एक नेताको दावी छ । पार्टी नेता अर्जुननरसिंह केसीका अनुसार पार्टी पराक्रमभन्दा परिकर्माले चल्दै आएको छ । पार्टीको नीतिगत विषयलाई पनि आफ्नो अनुकूल बनाएर हिंडन खोज्नुले पार्टीको नाममा आफू उकासिन खोज्ने मनोवृतिको उजागर गरेको घटनाका रूपमा नीति तथा प्रशिक्षण कार्यक्रमलाई पार्टी सुभेच्छुकले लिएका छन् । नीति तथा प्रशिक्षणलाई उपसभापति रामचन्द्र पौडेलले आफ्नो चुनावी प्रचारको माध्यम बनाएको गुनासो उनी निकट नेताहरुले नै गरेका छन् ।

इतिहास बोकेको मुलुकमा प्रजातन्त्रको बिजारोपण गर्ने पार्टी कांग्रेस विधिविधानमा कमजोर हुँदै गएको तथ्यलाई वरिष्ठ नेता तथा १३ औं महाधिवेशनमा सभापतिका बलिया प्रत्यासी शेरबहादुर देउवाले एक कार्यक्रममा स्वीकारेका छन् । उनले यस विषयमा आफू गम्भिर भएको र आफू नेतृत्वमा आएपछि पार्टीलाई विधिविधानमा हिंडाउने, भातृ संगठनलाई चुस्त दुरुस्त बनाउने र निर्णय प्रक्रियालाई सहभागितामूलक बनाउने प्रतिवद्धता जनाएको उनी निकट एक नेताले बताए ।