
काठमाडौं, ७ फागुन । साना र ठूला ब्यानर गरी तीन नेपाली फिल्महरू आज रिलिज भएका छन् । ती हुन् ‘द सोल्जर’, ‘को आफ्नो’ र ‘फागु’ ।
प्रतिस्पर्धामा उत्रिएका तीन वटै फिल्मले बाजी मार्ने दाबी गरेका छन् । करिश्माले बनाएको ‘फागु’ले अलि धेरै प्रचार प्रसार गरेको छ । करिश्माले फिल्मको प्रचार प्रसारका लागि पैसा पनि निक्कै खर्च गरेको चर्चा छ ।
‘फागु’को प्राविधिक विषयदेखि कलाकार नाम चलेकासम्म राखिएकाले फिल्मको चर्चा अलि बढी भएको हो ।
अर्को फिल्म ‘द सोल्जर’ले पनि आफ्नो उपस्थिति देखाएको छ । यो फिल्मको प्रचार प्रसार धेरै हुन नसकेको आरोप छ ।
‘को आफ्नो’ले पनि खासै प्रचार प्रसार गर्न नसकेको आरोप छ । तर ‘को आफ्नो’को कथावस्तु र निर्माण पक्ष बलियो रहेको समीक्षकहरूको भनाइ छ । फिल्ममा नायिका ऋचा शर्माको जोडदार अभिनय छ । फिल्ममा ऋचा सुन्दर देखिएकी छिन् ।
तीन वटै फिल्महरूले शुक्रबारको सुरूवात मध्यमखालको गरेका छन् । अन्य फिल्मको तुलनामा ‘को आफ्नो’ले अलि धेरै दर्शक तानेको जनाइएको छ ।
‘द सोल्जर’ बि.एस. बलामीको फिल्म हो । फिल्मले जंगलको कथालाई समेटेको छ । ‘द सोल्जर’मा राजेन्द्र चौधरी, जेनिशा केसी आदिको अभिनय छ ।
फिल्ममा मनोहर सुनामको संगीत रहेको छ भने शेखर ज्ञावलीको कथामा बनेको यो फिल्ममा सुरेश चौधरीले नृत्य निर्देशन गरेका छन् ।
‘को आफ्नो’की नायिका ऋचा शर्मा हुन् । फिल्ममा उनको मुख्य भूमिका छ । फिल्मभित्र मालटार गाउँकी पीडित महिलाको भूमिकामा ऋचा देखिएकी छिन् । आफ्नो सन्तान गुमाउनु पर्दा एक आमालाई पर्ने बेदना फिल्ममा कथावस्तु समेटिएको छ ।
‘फागु’ पुरानी अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेकी हुन् । फिल्मलाई निर्देशन सम्झना उप्रेती रौनियारले गरेकी हुन् ।
‘फागु’ले खुला सिमानाका कारण तराइको एउटा परिवारमा पर्न गएको असरलाई उठान गरेको छ । फिल्ममा करिश्माका साथै राजेश हमाल, शिल्पा पोख्रेल, सुवास पराजुली आदिको मुख्य भूमिका छ ।
फिल्ममा रामशरण उप्रेतीको छायांकन, कमल राइको नृत्य निर्देशन, बसन्त सापकोटाको संगीत, हिमाल केसीको एक्सन, वनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।















प्रतिक्रिया