
पथरी (मोरङ), ५ फागुन । मोरङ फुटबल क्लबले चर्चित नाइजेरियाली र नेपाली खेलाडी सम्मिलित टिमका साथ आगामी फागुन ६ गतेदेखि विराटनगरमा हुन लागेको ३१औँ विराट गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि हत्याउन मैदानमा उत्रिने भएको छ ।
मोरङ फुटबल क्लबका अध्यक्ष रवीन दाहालका अनुसार यसपटक क्लबले तीन जना नाइजेरियाली र नेपालका राष्ट्रिय खेलाडीसहितको टोली तयार पारेको हो ।
गत वर्षको प्रतियोगिता र लिगमा निराशाजनक प्रदर्शन गरेको मोरङले यसपटक भने खेलाडी परिवर्तन गरेका कारण नतिजा आफ्नो पक्षमा हुने दाहालको भनाइ छ ।
मोरङले दीपक राईको नेतृत्वमा नाइजेरियाली खेलाडी अम्बा, मारटियल र सिकोसहित चर्चित गोलरक्षक किशोर गिरी, रजिन धिमाल, विजय धिमाल, विक्रम लिम्बू, रुपेश केसी, निराजन खड्का, पूर्ण चेम्जोङ, नीरज बस्नेत, सुमन लामा, दिवार चौधरी, बुद्धिमान राई र रमेश उराव रहेका छन् ।
त्यसैगरी, पूर्व राष्ट्रिय खेलाडी सञ्जीव बुढाथोकी र कुमार प्रधानले टिमलाई प्रशिक्षण दिएका छन् । रासस















प्रतिक्रिया