काठमाडौं, २ फागुन । सूर्योदय आवासीय माध्यमिक विद्यालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको सूर्योदय श्रष्टा सम्मानबाट नेपाली वाङ्मयमा समर्पित मदनमणि दीक्षितलाई सम्मानित गरेको छ ।
नेपाली साहित्यका मार्गप्रदर्शक एवम् साहित्यक शिखर पुरुष आदिकवि भानुभक्त आचार्यको योगदानलाई चीर स्मरण गर्दै उनकै नाममा घट्टेकुलोस्थित सूर्योदयले आफ्नो स्थापना कालदेखि निजी पहल र लगानीमा ताम्रपत्र, दोसल्लासहित नगद रु १५०००।– को भानु सूर्योदय स्रष्टा सम्मान नेपाली साहित्यमा विशेष योगदान पुगाउनुहुने साहित्यिक सर्जकहरूलाई प्रदान गर्दै आएको छ ।
सो सम्मानबाट हालसम्म साहित्यकार भवानी घिमिरे, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद पराजुली, डा. चूडामणि बन्धू, शान्तदास मानन्धर, ज्ञानुवाकर पौडेल, दुर्गालाल श्रेष्ठ, तोया गुरुङ, भानुभक्त पोखरेललगायत सम्मानित भइसक्नुभएको छ ।
विद्यालय प्राङ्गण घट्टेकुलोमा शनिबार आयोजित सरस्वती पूजा तथा विशेष सांस्कृतिक कार्यक्रमका बीच दीक्षितलाई सो सम्मानाबाट सम्मानित गरिएको प्याव्यसनका अध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसीले जानकारी दिनुभयो ।
विगत सात दशक अघिदेखि नेपाली वाङ्मय र पत्रकारिता सक्रिय दीक्षितलाई भानु सूर्योदय स्रष्टा सम्मान–२०७२ प्रदान गरिएको शिक्षक एवम् सञ्चार संयोजक सुनील शर्माले जानकारी दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरू, पूर्व सम्मानित स्रष्टाहरू अभिभावक एवम् अन्य व्यक्तित्वहरूको समेत उल्लेख्य उपस्थिति थियो ।
विद्यालयका म्युजिक क्लबका विद्यार्थीबाट सरस्वती पूजाका अवसरमा दिइएको विशेष साङ्गीतिक प्रस्तुतिले सबैको मन तानेको थियो । एकपछि अर्को गर्दै देखाइएका नृत्यहरूमा अतिथि एवम् अभिभावक मुग्ध देखिन्थे । राष्ट्रिय गीतमा तयार पारिएको नृत्यमा कक्षा ४ मा अध्ययनरत विनयजंग योगीसहितका बालबालिकाले राष्ट्रियतासम्बन्धी विशेष प्रस्तुति देखाएका थिए ।
सरस्वती पूजाकै विशेष अवसरमा सूर्योदयले नाम दर्ता गर्ने विद्यार्थीका लागि भर्नामा विशेष छुटको व्यवस्था समेत विद्यालयले गरेको छ ।
अर्को महत्वपूर्ण पक्ष अर्थात् अक्षरारम्भ कलिला बालबालिकाहरूका लागि अक्षर सिक्ने शुभ साइतका लागि छुट्टै व्यवस्था गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल एवम् प्याव्सन अध्यक्ष केसीले भन्नभयो, ‘हामी शब्दमा यात्रा गर्नेहरू, कलममा जीवन फुलाउनेहरूप्रति समर्पित छौँ, कलिला हात र तोतेबोलीदेखि जीवनका धेरै पाना पल्टाएका परिपक्व मदनमणिसम्म सम्मानका आँखाले हेर्ने हाम्रो अभिष्ट हो ।’














प्रतिक्रिया