
काठमाडौं, २९ माघ । हिन्दू राष्ट्रको वकालत गर्दै आइरहेका हिन्दूवादी युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
युवाहरुको संगठन हिन्दू युवा जनशक्ति संघ नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषदले अनुमति नदिदा नदिँदै शान्तिमन्त्री एकनाथ ढकालले क्रिष्चियन धर्मको प्रचारका १० जना संसदलाई लिएर दक्षिण कोरिया उडेकोमा आपत्ति जनाउँदै तत्काल बर्खास्त गरी कारवाही गर्न प्रधानमन्त्री ओलीको ध्यानार्षण गराएको हो ।
विज्ञप्तिमा भनिएको छ– ‘क्रिश्चियन धर्मको प्रचारका लागि मन्त्री ढकाल आफ्नो निजी एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट २० जना सांसद सहितको टोली दक्षिण कोरियाको भ्रमणमा लैजान खोजेको प्रस्तावलाई गत माघ २० गते मन्त्रिपरिषद्ले अस्वीकार गरिसक्दा पनि अटेरी गर्दै मन्त्री ढकालले १० जना सांसदलाई कोरिया लगेको घटनाप्रति हिन्दु युवा जनशक्ति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
अगाडि भनिएको छ– ‘सरकारसँगको स्वीकृति बिना नै मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रचार एवं प्रवद्र्धन गर्ने उद्देश्यले विदेश लैजानु अत्यन्तै गैरजिम्मेवार, निन्दनीय र दण्डनीय रहेको र मर्यादा विपरीत मन्त्री ढकालले पटक पटक गर्ने यसप्रकारको हर्कतप्रति संघ घोर विरोध एवं आपत्ति प्रकट गर्दछ ।’
मन्त्री जस्तो व्यक्तिले स्वीकृति बिना नै विदेश भ्रमण गर्नु वा गराउनु र त्यसमा पनि कुनै धर्म विशेषको प्रवद्र्धनका लागि सक्रिय रहनु संविधानको घोर उल्लंघन भएको संघले ठहर गरेको छ । साथै संविधानको उल्लंघन गर्ने ढकाललाई तत्काल कारवाही गर्न माग गरेको छ ।
अध्यक्ष विकास ठाकुरद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मन्त्री पदमा बहाल रहेकै बेला क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले यसरी क्रिष्चियन धर्मको खुलेर प्रचारमा लाग्नु र स्वीकृति बिना विदेश भ्रमणमा जानु गैरकानूनी तथा दण्डनीय कार्य भएकोले ढकाललाई अविलम्ब मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न प्रधानमन्त्रीसँग संघ जोडदार माग गर्दछ ।’
अगाडि भनिएको छ– ‘कोरिया भ्रमण क्रिष्चियन धर्मको प्रवद्र्धनमा केन्द्रीत रहेको र भ्रमण स्वीकृत नभएको व्योहोरा अवगत हुँदाहुदै पनि भ्रमणमा गएका बाकी दश जना सांसदलाई समेत कारबाही गर्न सरकार एवं सम्बन्धित पार्टीसँग संघ माग गर्दछ ।’
पदीय गरिमाको चीरहरण गर्ने, कानूनको खिल्ली उडाउने, सरकारलाई अटेरी गर्ने, मन्त्री पदमा रहेर क्रिष्चियन धर्मको खुलेर प्रचार गर्ने शान्ति मन्त्री ढकाललाई बर्खास्त गरी कारबाही नगरिए ढकालविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत संघले दिएको छ ।
हेर्नुस् संघद्धारा जारी विज्ञप्तिः













प्रतिक्रिया