७ कार्तिक २०८३, शनिबार

क्रिश्चियन धर्मको प्रचार गर्न कोरिया जाने सांसदहरु को को हुन् ? (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eknath Dhakalकाठमाडौं, २९ माघ । सरकारको स्वीकृतिविनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् । सांसदको टोली मन्त्री ढकालकै संस्था युनिभर्सल पिस फेडेरेसनको खर्चमा क्रिस्चियन धर्म प्रवद्र्धन गर्ने कार्यक्रममा भाग लिन गएको हो । संसद् सचिवालयका सहसचिव रवि शर्मा अर्याल पनि टोलीमा छन् ।

कोरिया जाने सांसदहरूमा कांग्रेसबाट पार्वता डिसी चौधरी, ओमदेवी मल्ल र खड्गबहादुर बस्याल, एमालेबाट श्रीमाया थकाली, हरिप्रसाद उप्रेती र कृष्णभक्त पोखरेल, संघीय समाजवादी फोरमकी छाया शर्मा पन्त, नेकपा संयुक्तका जयदेव जोशी, परिवार दलका मिलनकुमार राजवंशी र नेकपा मालेकी कमला विश्वकर्मा छन् ।

एमालेले कार्यक्रममा सहभागी हुने–नहुनेबारे स्वविवेक प्रयोग गर्न निर्देशन दिएपछि तीन सांसद कोरिया गएका हुन् । कोरिया भ्रमणको सूचीमा रहेका प्रमुख सचेतक भानुभक्त ढकाल र सांसद डा गणेश गुरुङ भने गएनन् ।

सियोलमा हुने कार्यक्रम क्रिस्चियन धर्म प्रवद्र्धनको भएको सार्वजनिक भएपछि एमाओवादीले आफ्ना सभासद्लाई कोरिया नजान निर्देशन दिएको थियो । एमाओवादीका कुनै पनि सांसद भ्रमणमा गएनन् । शान्तिमन्त्री एकनाथ ढकालले विभिन्न दलका १९ सांसदलाई धर्म प्रवद्र्धनको कार्यक्रममा कोरिया लैजान खोजेका थिए ।

शान्तिमन्त्री ढकालको एनजिओ युनिभर्सल पिस फेडेरेसनले क्रिस्चियन धर्म प्रवद्र्धनका लागि कोरिया लैजान लागेको थाहा पाएपछि राप्रपा नेपालकी बबिता मोक्तान, संघीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपाली, जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका जयन्त चन्दले भ्रमण रद्द गरेका छन् ।
एक साताअघि मन्त्री ढकालले आफूसहित २० सांसदको भ्रमण प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए, तर मन्त्रिपरिषद्ले ढकालसहित सबै सांसदको भ्रमण प्रस्ताव अस्वीकृत गरिदिएको थियो । सामान्य धार्मिक कार्यक्रममा मन्त्रीको उपस्थिति अनावश्यक भएको र कोरियन सरकारको औपचारिक निम्तो पनि नभएकाले ढकाललाई मन्त्रीका रूपमा पठाउन नसकिने भन्दै मन्त्रिपरिषद्ले प्रस्ताव अस्वीकृत गरेको थियो ।