१४ कार्तिक २०८३, शनिबार

सरकारी कार्यालयको हातामै चुरोट-सुर्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpurभक्तपुर, २८ माघ । सरकारले कुनै पनि सार्वजनिकस्थलको २०० मि वरपर चुरोट सुर्ती लगायत धूमपानजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाए पनि यहाँका नियमन निकायमै खुला रुपमा यस्ता सामग्री पाइन्छ ।

नियमन निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, जिविस र जिल्ला अदालतको खाजाघरमै खुला रुपमा चुरोट तथा सुर्तीको खुलमखुल्ला बिक्री एवम् सेवन गरिएको सेवाग्राहीको गुनासो आउँदा पनि ती निकायले बेवास्ता गरेका छन् ।

सार्वजनिक निकायको १० देखि २० मिको दूरीमा नै सरकारको धूमपानसम्बन्धी नियमको पालना नभएपछि आफूहरुलाई असर परेको विद्यार्थीले गुनासो गरेका छन् । सार्वजनिकस्थलका रुपमा रहेका सरकारी कार्यालयसँगैको शारदा उमावि, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको ढोकैमा खुला रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण एवम् सेवन हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फ रहेको दुई, भक्तपुर अदालतको परिसरभित्र रहेको एक र स्काउट भवन नजिकै रहेको एक खाजाघरमा सरकारी कार्यालयका कर्मचारी नै चुरोट तथा सुर्ती सेवन गरिरहेका हुन्छन् । कर्मचारीले नै सरकारी नियमलाई गिज्याइरहेको विद्यार्थी बताउँछन् । जिविसका र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले सञ्चालन गर्दै आइरहेको खाजाघरमा पनि धूमपान निषेध क्षेत्रको पालना भएको छैन ।

सहायक प्रजिअ शिवराज जोशीले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर छिट्टै अनुगमन गरी यस्तो भेटिए कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो–“कोही कसैले करमुक्त पसलबाट चुरोट, बिँडी, सिगार, हुक्का, सिसा, कक्कड, चिलिम, सुल्पा, खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पाउँदैनन्, सबै सरकारी कार्यालयलाई हाताभित्र र सार्वजनिकस्थलमा यस्ता गतिविधि नगर्न निर्देशन दिइने छ ।”

सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई रु १०० जरिवाना र बिक्रीवितरण गरे रु १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । सार्वजनिकस्थलमा धूमपान गर्ने व्यक्ति कर्मचारी भएमा विभागीय कारबाहीसम्म गरिने नियम भए पनि कार्यान्वयन हुन सकेको छैन । रासस