त्रिशूली(नुवाकोट), २८ माघ । प्रेस चौतारी नेपाल नुवाकोटको पाँचौँ जिल्ला अधिवेशनले भोलाराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा नवदीप श्रेष्ठ, सचिवमा श्रीराम अधिकारी, सहसचिवमा ईश्वरकुमार पौडेल र कोषाध्यक्षमा सपना खड्गी सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनले सदस्यमा भरतसन्तोषी लामा, जमुना गजुरेल, कृष्णप्रसाद ढुङ्गाना र श्यामसुन्दर पुडासैनीलाई सदस्यमा चयन गरेको छ ।
यसअघि अधिवेशनको बुधबार उद्घाटन गर्दै चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले व्यवसायिक दक्षता अभिवृद्धि गर्नका लागि स¬ङ्गठन क्रियाशील रहँदै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि अन्य सङ्गठनसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले राजनीतिक अवस्था सुधारका लागि चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सङ्गठनलाई अझै गतिशील बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा चौतारी उपत्यका प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले नुवाकोट चौतारीमा अक्षय कोष सञ्चालनका लागि रु १० हजार प्रदान गर्नुभयो । सिलवालले प्रदान गरेको अक्षयकोषको रकम पत्रकारको व्यावसायिक हित एवं आपत्कालीन अवस्थामा खर्च गरिने सङ्गठनले जनाएको छ । रासस












प्रतिक्रिया