
काठमाडौं, २८ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पात मच्चाउने भारतको अर्काे पोल खोलेका छन् ।
उनले संविधानसभाबाट जारी नेपालको प्रगतिशील संविधान कार्यान्वयनमा दक्षिणी छिमेकी भारतले अवरोध सिर्जना गरिरहेको रहस्य सार्वजनिक गरेका हुन् । नेपालको प्रगतिशील संविधान कार्यान्वयन हुँदा त्यसको असर आफ्नो मुलुकमा पनि पर्ने डरका कारण भारतले संविधान कार्यान्वयनमा अवरोध गर्न खोजेको आरोप दाहालको थियो ।
पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बुधबार पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष दाहालले भने, ‘संविधानसभाबाट जारी संविधानले नेपालका जनजाति र महिलालाई दिएको अधिकार भारत र अमेरिकाले पनि दिएका छैनन् ।’
‘नेपालको जस्तो प्रगतिशील संविधान न भारतमा छ न अमेरिकामा । हाम्रो संविधानमा जनजाति र महिलाका लागि धेरै अधिकार सुनिश्चित गरिएको छ’, दाहालले भने ।
महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको, जनजातिका लागि समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको र सीमांकनबारे संविधान संशोधन गर्न छलफल चलिरहेको स्मरण गराउँदै उनले भने, ‘हाम्रो संविधानलाई राम्रो भने भारतमा पनि हाम्रो संविधानमा भएजस्तै अधिकार त्यहाँका महिला र आदिवासी जनजातिले खोज्ने भए ।’
बैठकले सीमांकनमा थारू समुदायको अधिकार सुनिश्चित गर्न संघर्ष गर्ने निर्णय गरेको मोर्चाका संयोजक सन्तकुमार थारूले बताए । अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया