
– विमल योगी
काठमाडौं, २६ माघ । दोस्रो संविधान सभापछि नेपाली कांग्रेस दोस्रो पार्टीमा खुम्चिएको थियो । त्यत्ति बेलाका सभापति थिए, सुशील कोइराला । सामान्य दिनचार्य व्यतित गर्ने कोइरालालाई मैले नजिकबाट बुझ्न पाएको थिएन ।
संयोग नै मान्नुपर्छ चार वर्ष अगाडि कोइरालासँग नजिक पुगाउने कार्य दाङका पत्रकार बिपुल पोखरेलले मिलाएका थिए । बिपुलका साथै अर्का पत्रकार शिव लम्सालले पनि कोइरालासँग मेरो नजिकको मध्यस्थता गरेका हुनभन्दा फरक नपर्ला ।
पोखरेल र लम्सालको सामिप्यताले कोइरालासँगै पश्चिमाञ्चलका तीन जिल्ला तनहुँ, लमजुङ र गोरखा घुम्ने अवर मिल्यो । कोइरालासँग जहाँ जहाँ बास बसियो, त्यहाँसँगै बसियो । र खानापनि सँगै खाइयो ।
सभापति भइसकेको मान्छे । बाहिर जिल्ला हिँड्दा के खाँदा रहेछन् भनेर कोइरालाका विषयमा मलाई कौतुहलता थियो । तर कोइरालाले खानेकुरा त्यस्तो उत्पात खाएको पाइन । दही, रोटी वा दालभात नै खाएको पाए । त्यो पनि स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताको घरमै बनाएको ।
जिल्ला भ्रमणका क्रममा कोइरालासँग तनहुँको दमौलीस्थित एउटा होटेलमा सँगै बसेका थियौँ । बेलुका आठ बज्न थालिसकेको थियो ।
होटेलमा खानपानको व्यवस्था हुँदै थियो । हामी पत्रकारहरु एउटा टेबुलमा बसेर खाजा खाँदै थियौँ । खाजा खाँदै गर्दा एउटा व्यक्ति चप्पल लगाएर लखर खलर हामीतिर आइपुग्यो ।
आठ बजिसकेकाले बाहिर अँध्यारो, त्यसमा पनि हामी बसेको टेबुलमा बत्तीको प्रकाश अलि धमिलो थियो । को आएको भनेर हामीले खासै ध्यान दिएनौँ । तर नजिकै आपुगेका ती व्यक्तिले भने, ‘राम्रोसँग खाना खानु है, भोकै नबस्नु ।’ बोलि सुनेपछि पछाडि फर्केर हेरेको त कांग्रेस सभापति कोइराला रहेछन् ।
मैले स्मरण गर्न खोजेको के हो भने ? कोइरालाले आफ्नो टोलीसँगै हिँडेका साथीहरुले के खाए वा खाएनन् भनेर बिचार गर्ने बानि थियो । उनको यो बानिले कोइरालाको समामिप्यमा पुग्ने जो कोहीले मन पराउँथे ।
दमौली हुँदै लमजुङको भोर्लेटारको कांग्रेसको आमसभालाई सम्बोधन गर्न जाँदा लमजुङ र तनहुँको सिमानास्थित बीच जंगलमा कोइराला चढेको गाडी बिग्रियो । आफू चढेको गाडी बिग्रिएपछि केन्द्रीय सदस्य दीपक गिरी चढेको गाडीसम्म सहजै रुपमा पुगेर कोइरालाले कोचाकोच गरी भोर्लेटारसम्म पुगेका थिए । त्यस बेला केन्द्रीय सदस्य गिरीले भनेका थिए, ‘सुशील दासँग कतै जिल्लामा जाँदा खासै अप्ठेरो हुँदैन । सहज हुनुहुन्छ । जे कुरालाई पनि सहज रुपमा लिनुहुन्छ ।’
जहिले पनि गाडीको अगाडिको सिटमा बस्न रुचाउने कोइरालाले अप्ठेरो पर्दा जस्तो सुकै परिस्थितिको पनि सामना गर्ने नेताको रुपमा मैले त्यतिबेला थाहा पाएको हुँ । (कोइरालासँग तनहुँ, लमजुङ र गोरखा जिल्लाको चार वर्षअघि सँगै भ्रमणमा गएका बेलाको संस्मरण)















प्रतिक्रिया