सिलोङ, फेब्रुअरी ८ तारिख । निमा घर्ती मगरले १२ औं सागअन्तर्गत उसुमा नेपाललाई सोमबार पहिलो स्वर्ण दिलाएकी छन् ।
सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा भएको थाउलोअन्तर्गत महिलाको नान् क्वान र नान् गुन अलराउन्डमा क्रमशः ८.४५ र ८.४६ गरी जम्मा १६.९१ अंक जोड्दै निमाले नेपालको स्वर्णको खडेरी तोडिन् । भारतकी स्वेच्छा जाताभ दोश्रो र पाकिस्तानकी मुस्बारा अख्तर तेश्रो भए ।
कक्षा १० मा अध्ययनरत निमाले गोल्डेनगेट इन्टरनेसनल कलेजमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने भएकी छन् । उसु आयोजना स्थलमा उपस्थित डेपुटी सेभ दि मिसन समेत रहेका गोल्डेनगेटका पुरेन्द्रविक्रम लाखेले छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही स्पर्धाको पुरुषमा युवराज थापाले रजत जिते । उनले कुल १७.६६ अंक बटुले । उनले नान् क्वानमा ८.४१ र नान गुन्मा ९.२५ अंक जोड्न सफल भए । भारतका पुन्सिवा मेइतेइ पहिलो र श्रीलंकाका मनुरंगा तेश्रो बने ।
योसहित उसुमा नेपालले १ स्वर्ण र ३ रजत गरी ४ पदक हात पारेको छ । अघिल्लो दिन पुरुषमा विजय सिन्जाली र महिलामा सुस्मिता तामाङले छाङ छ्वानमा रजत जितेका थिए ।
सान्सौंमा ३ महिला खेलाडीले फाइनल यात्रा तय गर्दै कम्तीमा रजत पक्का गरेका छन् ।
६३ केजीमा झरना गुरुङले अफ्गानिस्तान, ६० केजीमा जुनी राईले पाकिस्तान तथा ७० केजीमा विन्दु पुन मगरले पाकिस्तानका खेलाडीलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । तीनै खेलाडीले फाइनलमा भारतका खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल बंगलादेशसंग पराजित
सागअन्तर्गत आर्चरीको कम्पाउन्ड पुरुष टिम इभेन्टमा तेश्रो स्थानका लागि भएको खेलमा नेपाल सोमबार पराजित भएको छ । नेपाल बंगलादेशसंग २०८–१९७ ले पराजित भयो ।
नेपालबाट किशोरकुमार गुरुङ (केके), लक्ष्मण पुन र विवेकसेन गुरुङले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सोमबार पुरुष रिकर्भको व्यक्तिगत स्पर्धामा तेश्रो स्थानका लागि प्रेमप्रसाद पुनले श्रीलंकाका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।
गुरुङ उपाध्यक्षमा निर्विरोध
नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ दक्षिण एसियाली आर्चरी संघको प्रथम उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । गुरुङ दक्षिण एसियाली आर्चरी संघका संस्थापक सदस्य हुन् ।
संघको पाँचौं चुनावी साधारणसभाले भारतका अनिल कामीनेनीलाई अध्यक्ष तथा बंगलादेशका काजी राजिव चोपललाई महासचिवमा निर्विरोध चयन गरेको नेपाल आर्चरी संघले जनाएको छ । त्यस्तै नेपाल आर्चरी संघका महासचिव रमेशप्रसाद सिवाकोटी सदस्यमा चयन भए ।
महिला टिमलाई कांस्य
सागअन्तर्गत ब्याडमिन्टनको महिला टिम इभेन्टमा नेपालले सोमबार कांस्य जितेको छ । ३ सिंगल्स र २ डबल्स समावेश टिम इभेन्टमा नेपालले अफ्गानिस्तानलाई ३–० ले हराएर सेमिफाइनल यात्रा तय गर्दै कांस्य सुरक्षित गर्यो । सेमिफाइनलमा नेपाल श्रीलंकासंग ३–० ले नै चुक्यो ।
गौरीकालाई अर्को कांस्य
नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् ।
गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् । भारतले १ मिनट ०३.७८ सेकेन्डमा साथ स्वर्ण र दोश्रो स्थानमा रहेको श्रीलङकाले उक्त दुरी १ मिनट ०६.०० सेकेन्डमा पुरा गरेको थियो ।
लन्डनमा अध्यनको क्रममा रहेकी गौरीकाले त्यही साग तयारीको क्रममा त्यहिं बिदेशी प्रशिक्षकबाट प्रशिक्षण लिंदैं आएकी थिईन् ।
गौरीकाको पदकबाट हौसिएका पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पौडीबाट थप दुई पदक प्राप्त गर्ने विश्वास ब्यक्त गरे ।
नवीता र एलिना सेमिफाइनलमा
सागअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपाली जोडी नविता श्रेष्ठ र एलिना महर्जन सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले पाकिस्तानी जोडीलाई ३–१ ले पराजित गर्यो । सेमिफाइनल पुगसंगै उक्त जोडीले कम्तीमा कांस्य पक्का गरेको छ ।















प्रतिक्रिया