काठमाडौँ, २५ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आसन्न सम्मेलनको निर्वाचनलाई प्रभाव पार्ने गरी प्रकाशन, प्रचारप्रसार तथा नारा, जुलुस गर्न नपाइने आचारसंहिता निर्माण गरेको छ ।
२२औँ राष्ट्रिय सम्मेलनका क्रममा हुने निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष किशोरविक्रम मल्लले जानकारी दिनुभयो । यही माघ २७ देखि २९ गतेसम्म हुने सम्मेलनमा देशभरबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् ।
सहभागीलाई खान, बस्नका लागि सुनधारा, बागबजार, नयाँ बजारलगायत आवासमा व्यवस्था मिलाइएको छ । स्थानीय भृकुटीमण्डपमा उद्घाटनसत्र सुरु हुनुअघि पार्टी तथा जनवर्गीय सङ्गठनका जुलुस प्रदर्शनीमार्गमा जम्मा भई समारोहस्थलसम्म पदयात्रा गरिनेछ । बन्दसत्र भने माघ २८ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने छ ।
यस पटकको सम्मेलनमा ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा तय गरिएको छ । रासस












प्रतिक्रिया