१ कार्तिक २०८३, आइतबार

चितवनमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitwan-Mahotsab

चितवन, २५ माघ । चितवन उद्योग संघको आयोजनामा आज (सोमबार)देखी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ सुरु भएको छ ।

औद्योगिक प्रवद्र्धन मैदानमा सुरु भएको प्रदर्शनीको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले समुद्घाटन गर्नुभयो । प्रदर्शनी समुद्घाटन अघि विहान विभिन्न उत्पादनले सजाइएको सवारी साधन सहितको ¥यालि निकालिएको थियो ।

प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहेका छन् । यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि रु.५० को टिकट र विद्यार्थीहरुको लागि रु. ३० को टिकटको व्यवस्था गरिएको छ । यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएको छ । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज भएको छ ।

प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा/प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहेका छन् ।

यसैबीच प्रदर्शनीको समुद्घाटन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अब देशको विकासका लागि आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभएको छ । हालसम्म विभिन्न क्षेत्रको क्रान्तिका नाममा आन्दोलन भएको स्मरण गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला आएको बताउनुभयो । उहाँले अब समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने जोड दिँदै औद्योगिक क्षेत्रको विस्तारसंगै कृषिमा आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा देखिएको अभावका समस्यालाई समाधान गर्दै औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने जोड दिनुभयो । उहाँले यसका लागि सरकारी भुभागमा छुट्टै औद्योगिक क्षेत्र बनाउन सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । निजी क्षेत्रले जग्गा खरिदगरि अब उद्योग फस्टाउन नसक्ने अवस्था आएकाले खाली जग्गा जमिनलाई औद्योगिक क्षेत्रको रुपमा विकास गराउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।

मन्त्री पाण्डेले नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । उहाँले नेपालमा वार्षिक १५ अरवको चामल आयात हुने गरेको स्मरण गर्दै अब नेपालमा उत्पाकत्व बढाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले चितवनमा औद्योगिक क्षेत्रको विकासका लागि छुट्टै कोरिडोरको स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले लामो समयदेखिको अघोषित नाकाबन्दीले सम्पूर्ण उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै यस्ता किसिमका समस्याहरु समाधानमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले चितवन देशकै मध्यभागमा पर्ने भएकाले यहाँ राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलको आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि अहिले भईरहेको प्रदर्शनी स्थल उपयुक्त भएकाले सरकारसंग औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि १० करोड रुपैयाँ छुट्याउन माग गर्नुभयो । उहाँले अरवौं बजेट खर्च नभईकन बसिरहेको भन्दै उद्योगको प्रवद्र्धनका लागि सरकारले यस्ता किसिमका प्रदर्शनी स्थल बनाउनमा पनि ती रकम खर्च गर्नुपर्ने बताउनुभयो । उहाँले चितवन हरेक क्षेत्रमा सम्भावनाको खानी भएकाले देशको अर्थतन्त्रको विकासमा यहाँको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधान, चितवन क्षेत्र नं.३ का सांसद कृष्णभक्त पोखरेल, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, भरतपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष भेषराज दुवाडीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।