![lrtjgsf] gf/fo0fu9 d'UnLg ;8ssf] :t/f]GgtL x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2016/02/Sadak_chitwan-650x433.jpg)
चितवन, २५ माघ । ‘एसियन हाइवे’को भाग नारायणगढ–मुग्लिन सडकखण्डको मुख्य पहाडी भाग फोरेर सडक चौडा गर्नुपर्ने भएपछि हरेक दिन दिउँसो चार घन्टा यातायात आवागमन बन्द गरेर काम अगाडि बढाइने भएको छ ।
सडक विस्तार तथा पुनः निर्माणको क्रम चलिरहेकाले माघ २८ गतेदेखि निर्माण कार्य चलुन्जेलसम्म दिनको चार घन्टा बाटो बन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।
हरेक दिन बिहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुनेछ । दुई घन्टा पहाड फोर्ने र दुई घन्टा सफा गर्ने काम हुने भएका कारण हरेक दिन चार घन्टा सडक बन्द गर्न बाध्य भएको उहाँले बताउनुभयो । कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्नुपर्ने हुन्छ । सो क्षेत्रमा हाल पाँच मिटर चौडा पिचबाटो रहेको छ ।
सो क्षेत्रमा नौ मिटर फराकिलो पिचसडक निर्माण गरिँदैछ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ । सडक बन्द भएका बेला मुग्लिन र रामनगरमा सवारीका साधन रोक्ने तयारी गरिँदैछ ।
सडक निर्माण एवम् विस्तारका क्रममा ट्राफिक जामका कारण घन्टौँसम्म गाडी रोक्नुपर्ने बाध्यता भएको बताउँदै इन्जिनियर खनालले हरेक दिन चार घन्टा बन्द भए पनि बाँकी समयमा दुबैतर्फ बाटो सञ्चालन हुने बताउनुभयो । गएको पुस १९ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षीय भेलामा हरेक दिन दुई घन्टा मात्र सडक बन्द गर्ने निर्णय भएको थियो । दुई घन्टा मात्र बन्द गर्दा काम गर्न असहज भएकाले अहिले चार घन्टा बन्द गर्न लागिएको इन्जिनियर खनालले बताउनुभयो ।
सम्झौता भएको २४ महिनाभित्र अर्थात सन् २०१७ को अप्रिलसम्ममा निर्माण सक्ने सर्त भएको जानकारी दिँदै खनालले भूकम्पको असर र इन्धन अभावका कारण नौ प्रतिशत काम मात्र सकिएको बताउनुभयो ।
विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच४टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ । रासस















प्रतिक्रिया