दाङ, २५ माघ । नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गत आजदेखि जिल्ला अधिवेशन सुरु भइरहेका बेलामा दाङमा महाधिवेशनको माहोल चर्किएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको बर्चचस्व रहेको दाङमा तीन समूहको त्रिपक्षीय भिडन्त छ । दाङमा तीन समूहकै नेताहरुले आआफ्नो बर्चस्व लिन तछाडमछाड गरेका छन् । दाङ कांग्रेसका माहिर खेलाडी मानिने खड्का यस पटक अलि कमजोर भएको उनकै समूहका नेताहरुको भनाइ छ ।
दाङ कांग्रेसमा संस्थापनबाट सांसद अनिता देवकोटा, खुमबहादुर खड्का समूहबाट अर्जुन श्रेष्ठ र बरिष्ठ नेता देउवा समूहबाट कमल किशोर घिमिरेले सभापतिमा उम्मेदवारी दिन थालेका छन् । घिमिरे युवा नेता हुन् । उनको युवाहरुमा राम्रो पकड छ । देवकोटाको पनि जिल्लामा राम्रो पकड छ ।

स्रोतका अनुसार तीनै जनाले आआफ्नो समूहमा सहमति पनि बनाइ सकेका छन् । उनीहरुले भोलि मंगलबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
सहमतिको लागि प्रयास भए पनि यो समाचार तयार पार्दासम्म कुनै सहमति हुन सकेको छैन । यद्यपि जिल्लाका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत छन् । मंगलबार उम्मेदवारी दिने कार्यक्रम रहेकाले भोलि बिहानसम्म सहमतिको प्रयास हुनेछ ।
अनितालाई केन्द्रीय सदस्य दीपक गिरी, अर्जुन श्रेष्ठलाई खुमबहादुर खड्का र कमल किशोर घिमिरेलाई देउवा समूहका नेताहरुले समूह बनाइ जिताउन प्रचार प्रसार तीब्र बनाएका छन् । क्षेत्र नम्बर ३ का सांसद राजु खनाल पनि दाङ कांग्रेसको महाधिवेशनमा आफ्नो बर्चस्व देखाउन सक्रिय छन् । संस्थापन समूहका खनाल दाङमा आफ्नो उपस्थिति जोडदार रुपमा देखाउन खोजेका छन् ।

देउवा निकटका सांसद डिल्ली चौधरीको दाङ कांग्रेसमा खासै प्रभाव छैन । एनजिओ चलार राजनीति गर्दै आएका चौधरीले चुनावका बेला पैसा वितरण गर्नेभन्दा अर्को बिकल्प छैन ।
अरु सांसद पार्वती डिसी चौधरी, सुशीला चौधरीले पनि दाङ महाधिवेशनमा यस पटक आआफ्नो उपस्थिति देखाउने प्रयास गरेका छन् । खुमबहादुरकी पत्नी शिला खड्का गौतमको भने जिल्लामा कुनै उपस्थिति छैन । पति नै राजनीतिमा खुलेर लागेकाले शिलाले आफ्नो उपस्थिति देखाउन नचाहेकी हुन् ।
यसैबीच, दाङ कांग्रेसमा जिल्ला छाडेर अर्को जिल्ला गइ बसोबास गर्ने र राजनीति मात्रै गर्न आउने ‘शरणार्थी’ नेताहरुविरुद्ध बहिष्कारको नारा लागेको छ । ४ नम्बर क्षेत्रबाट बाल्लबल्ल महाधिवेशन प्रतिनिधिमा जित हासिल गरेका शंकर गिरीलाई दाङबाट भगाउन कांग्रेसका नेताहरु सक्रिय भएका छन् ।
दाङमा दोस्रो संविधान सभामा पाँच वटै क्षत्रमा विजयी हासिल गरेको थियो । राप्ती अञ्चलमा दाङलाई कांग्रेसको गढका रुपमा हेरिन्छ । दाङको नतिजाले केन्द्रलाई पनि प्रभाव पार्न सक्ने केन्द्रीय नेताहरुको बुझाइ छ ।












प्रतिक्रिया