
काठमाडौं, २४ माघ । सहरको कथा, समाजको व्यथा, प्रेमयात्रा र अपराधिक सुत्र त्यसक्रमका अनेक घटनाक्रमलाई सरल ढंगले देखाउने प्रयत्न हो, फिल्म । फिल्मकै माध्यमबाट सूचना, सन्देश र मनोरञ्जन दिने लक्ष्य बोकेर ०७३ मा रिलिज गर्नेगरी एम सन पिक्चर्सले निर्माण गरेको छ, लालटिन । ३४ दिन लगाएर सुटिंग सकेको फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण समुहले बताएको छ ।
एक करोडभन्दा बढि लगानी भइसकेको फिल्म बलिउडस्तरमा बनाइएको निर्माण पक्षको दाबी छ । भानु प्रतापको प्रस्तुतीमा आउन लागेको फिल्मको निर्देशन देवकुमार श्रेष्ठले गरेका छन् । सामाजिक, राजनीतिक, थ्रिलर, एक्सन, सस्पेन्स र लभस्टोरी सवै पक्षलाई फिल्मले समेटेको निर्माण पक्षको दाबी छ । निर्देशक श्रेष्ठ भन्छन्,‘निर्देशन पोख्त कला होइन । तर, निर्देशन काम गर्ने उत्प्रेरणा पनि भएकाले लालटिनमा सकेसम्म हर कलाकारहरुको अभिनयले न्याय गरेको ठम्याई छ । नयाँ र पुराना सवै कलाकारहरुको प्याकेजको खुराकका रुपमा लालटिनलाई बजारमा ल्याउने तयारी भएको छ ।’
फिल्ममा लामो समयसम्मको गृहकार्यपछि कलाकारहरु कास्ट गरिएका छन् । नयाँ र पुराना अव्वल कलाकारहरुको अभिनयलाई उतार्ने प्रयत्न गरिएको प्रस्तुतकर्ता भानु प्रतापको दाबी छ । उनले भने, ‘फिल्मको पोष्ट प्रडक्सको काम पनि भइरहेको छ, अब हामी लालटिन कहिले बाल्ने भनेर मिति कुर्ने तयारीमा जुटेका छौं ।’

सन्तान, चेलीबेटीलगायतका सुपरहिट फिल्म पस्किएका अर्जुनजंग शाहीले धेरैपछि लालटिनबाट आफ्नो कमव्याक गरेका छन् भने लामो समयपछि अभिनेत्री मेलिना मानन्धरको पनि आगमन भएको छ । अहिले अति व्यस्त रहेका, सवैले रुचाएका कलाकार दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, आरपी भट्टराई, रिया श्रेष्ठ नविन शाहलगायतले पनि फिल्ममा मुख्य भुमिका निर्वाह गरेका छन् । प्रियंका कार्की जेल परेको दृश्य पनि फिल्ममा देखिनेछ ।
त्यसैगरी मोडलिङमा व्यस्त रहेका राज कटुवाल र निरजन थापालाई फिल्ममा नायकका रुपमा डेव्यु गरिएको प्रस्तोता भानु प्रतापले बताए । ‘फिल्मको कथाअनुसार अडिशन लिएपछि पात्र छनौटका क्रममा चरित्रअनुसारका दुई नयाँ अनुहारलाई लिइएको हो ।’, भानु प्रतापले भने,‘नव नायकका रुपमा आएका दुवैको अभिनय प्रभावकारी देखिएको छ ।’
फिल्ममा दर्शकलाई बाँध्नका लागि कथा, पटकथा, संवादलाई ध्यानमा राखी भानु प्रताप र किरण माइकलले तयार पारेका थिए । भानु प्रतापले एक दर्जनभन्दा बढि नेपाली फिल्ममा अभिनयको अनुभव सँगाल्नुका साथै फिल्मका सानाभन्दा साना प्राविधिक ज्ञानलाई पनि बुझेका छन् । उनले तीनवटा सर्ट फिल्म निर्देशन गरी वेस्ट नव निर्देशकको सम्मान लिएपछि ठूलो फिल्ममा हात हालेका हुन् । तर लालटिनमा तारा न्यौपानेसँगै भानु प्रतापले मुख्य सहायक निर्देशकको जिम्मेबारी पनि सम्हालेका छन् ।

यसैगरी, मोहनविक्रम श्रेष्ठ, कमल आले, केशव घिमिरे, अर्जुन पोखरेल, देव श्रेष्ठ, मिलन श्रेष्ठ, जीपी उप्रेती, विनायक लामिछाने, रविन थापा, रोशन परियार, मनोज महर्जन, हिरा लामा, रमेश थापा, टिका मगरलगायतले पनि आफ्नो अभिनय कला प्रस्तुत गरेको फिल्ममा गीत संगितलाई पनि उत्तिकै ध्यानमा राखिएको निर्माण पक्षको दाबी छ ।
विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगित रहेको फिल्मका गीतहरुमा आस्था राउत, सोमिया बराइली, डिजराज पौडेल, विनोद ढकाल, किरण माइकल र बोनी श्रेष्ठले स्वर भरेका छन् जसमा एरेन्जरहरु किरण तुलाधर, धिरज श्रेष्ठ र प्रमोद परियारको गतिलो अनुभव जोडिएको छ । ‘फिल्ममा दर्शकले सवै खुराकहरुको मिलावटको अपेक्षा गरेको हुनाले पनि कुनै चिजको पनि कमी नहोस् भन्ने हाम्रो मनसाय हो ।’, प्रस्तोता भानु प्रतापले थपे ।
काठमाडौं र थाइल्यान्डमा सुटिंङ गरिएको फिल्ममा धेरैजसो वास्तविक दृश्य देखाउने कोशिश गरिएको छ । हरि लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज, डिकेश र प्रस्तोता भानु प्रताप आफ्नै नृत्य निर्देशन गरेका छन् । शंकर पाण्डे, अर्जुन पोखरेलले पोष्ट प्रडक्शन तथा बनिश शाह र अर्जुनले सम्पादन गरेको फिल्मका निर्माताहरु भानु प्रतापसहित राज केसी र अनिम श्रेष्ठ हुन् जसमा श्रृंगारको जिम्मा प्रेम भुजेलले लिएका थिए ।
चटकभटकदेखि अहिलेको युवा पुस्ताको ओठमा शव्दहरु झुन्डिनेगरी गीत लेख्ने प्रयत्न गरिएको दाबी गरेका प्रस्तोता भानु प्रतापका अनुसार उनीलगायत विनोद ढकाल, किरण माइकल र गजलकार दिलिप घिमिरेले गीतका शव्दहरु कोरेका छन् ।
‘एउटा प्यार्टनमा मात्र फिल्म बन्दैन, फिल्ममा सवैकुराको मिसावट हुनसक्छ । तर, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराले अर्थ राख्छ । मैले कलात्मक अभ्यास, प्रेमसम्बन्ध, टिनएजर्सको एक्टिभीटीका विषयमा पनि फिल्म बनाएँ, यी भन्दा फरकमात्र होइन सवै कुरा समेटेर यो फिल्म निर्देशन गरेको छु, जसमा नेपाली फिल्मको इतिहाँसमै फरक द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गर्नुभएको छ ।’, निर्देशक श्रेष्ठले थपे,‘फिल्ममा ५० भन्दा बढि व्यावसायीक कलाकारको अभिनय रहेको छ जसमा कलाकारसंघका अध्यक्ष रामकेशर वोगटी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामादेखि राजनीतिज्ञ जनक वर्तौला, समाजसेवी लिलामाया ढकाल र सुनिल कटुवाललगायतको अभिनय पनि समेट्न सक्दा खुसी लागेको छ ।’ फिल्ममा सयुष्मा ढकाल र जनेशिया श्रेष्ठले बाल कलाकारका रुपमा अभिनय गरेका छन् ।
‘फिल्म हतारमा बनाएर फुर्सदमा रुनका लागि निर्माण गर्ने चिज होइन भन्ने कुरामा म अनभिज्ञ छैन । सवैले आफ्नो प्रडक्टको राम्रो भन्ने हो, दाबी गर्ने हो । त्यस्तै दाबी म पनि गर्छु । तर, मलगायत मेरा साथीहरुले यसमा अन्याय गरेका छैनन् भन्ने मेरो अनुमान हो’, प्रस्तोता भानु प्रतापले थपे, ‘बाँकी निर्णय नेपाली दर्शकको हातमा भएकाले पर्खनुको विकल्प छैन ।’ शाव्दिक रुपमा लालटिन लोडसेडिङले आक्रान्त भएको मुलुकमा उज्यालो छर्ने हतियारका रुपमा बुझिएपनि फिल्मको टाइटल भनेचाहीँ दर्शकले हेरेपछि मात्र पत्तो लाग्ने प्रस्तोता भानु प्रतापले बताए ।















प्रतिक्रिया