काठमाडौं, २४ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकका लागि विगत एक सातादेखि तयारी भएको छ । शीर्ष नेताहरुले विभिन्न बखेडा गरेर बैठक बोलाउन मानेका छैनन् ।
मधेसी मोर्चाको आन्दोलनका क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको व्यक्तिगत टकरावले मोर्चाको बैठक तोकिएको समयभित्र बस्न नसकेको आरोप छ ।
वीरगञ्ज नाका खुलेपछि महतो र यादवबीच झनै टकराव बढेको मधेसी दलका नेताहरुले बताएका छन् । सोही कारण मधेसी मोर्चाको बैठक बस्ने नसकेको बताइएको छ ।
यसैबीच, दोस्रो तहका नेताहरुले आज जसरी पनि मधेसी मोर्चाको बैठक बसाल्ने तयारी गरेका छन् । स्रोतका अनुसार मधेसी मोर्चाका सबै शीर्ष नेताहरुलाई राखेर बैठक गरी भावी योजनाका विषयमा निर्णय गर्ने बताइएको छ ।
मोर्चाको बैठक आज बस्ने भनिए पनि स्थान र समयका विषयमा केही बताइएको छैन ।
यसअघि शनिबार बेलुका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका सद्भावना अध्यक्ष महतो उत्साहित देखिएका छन् । उनको उत्साहका विषयमा स्पष्ट केही बताइएको छैन ।
तर दाहाल र महतोबीच भएको शनिबारको भेटले मधेसी मोर्चामा झन् विभाजन आउने मोर्चाका एक नेताले बताए ।
अध्यक्ष दाहालले वीरगञ्ज नाकाको नाकाबन्दी र मधेस आन्दोलनको सबै जसभरि अध्यक्ष महतोलाई दिएपछि मधेसी मोर्चामा झन् विवाद आएको जानकारहरुको भनाइ छ ।












प्रतिक्रिया