काठमाडौं, २४ माघ । जनयुद्ध दिवस नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो संगठन सृदृढीकरण र प्रशिक्षण अभियानलाई तीब्र बनाउँदै लगेको छ ।
संगठन सृदृढीकरणअन्तर्गत विप्लव माओवादीले राजधानीलाई केन्द्र बनाइ आफ्ना विभिन्न सांगठनिक गतिविधि गर्दै आएको छ ।
आफ्नो जनसरकार विस्तारको अभियानलाई अन्तिम चरणमा पुगाएको विप्लव माओवादीले एक साता अगाडि नेवाः राज्यस्तरीय जनसरकार घोषणा गरेको थियो ।
जनसरकार प्रमुख सन्तोष बुढा मगरले यो अभियानलाई रोकिन दिएका छैनन् । विप्लव माओवादीले विशेष गरेर आफ्नो राजनीतिक संगठनलाई राजधानी केन्द्रित बनाउन खोजेको आरोप पनि छ ।
उता, महासचिव विप्लव पनि संगठनकै शिलशिलामा पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा सांगठनिक अभियानमा लागेका छन् । उनले पार्टीलाई सांगठनिक रुपमा अरु माओवादीभन्दा बलियो बनाउन सक्रिय रहेको एक नेताले बताए ।
यसै क्रममा विप्लव माओवादीले शनिबार भक्तपुर जिल्लामा अखिल नेपाल महिला संघ (क्रान्तिकार)को प्रथम सम्मेलन गरेको छ । शनिबार भक्तपुरमा भएको सम्मेलनले गीता मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ ।
समितिमा उपाध्यक्षद्धय लक्ष्मी ढकाल र बुद्धलक्ष्मी मकाजु रहेका छन् । सचिवमा देवा पुन, सहसचिवमा तारा बस्नेत र कोषाध्यक्षमा सज्जा तामाङ रहेको नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिए ।
सम्मेलनमा इञ्चार्ज मल्लले मुलुकको सत्ता विप्लव माओवादीको हातमा आउनै पर्ने बताएका थिए । ‘माओवादीले यो मुलुकको नेतृत्व नलिँदासम्म विकासले तीब्रता पाउँदैन’, उनले भने, ‘माओवादीले नै मुलुकमा शान्ति र समृद्धि ल्याउँछ ।’














प्रतिक्रिया