
काठमाडौँ, २३ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आन्दोलनरत दलको माग वार्ता र संवादबाटै समाधान हुने बताउनुभएको छ ।
आज आफ्नै निवास लाजिम्पाटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई बोलाएर अध्यक्ष दाहालले वार्ता र संवादमार्फत आन्दोलनको समाधान गर्न सकिने भएकाले त्यसका लागि नै प्रयन्त गर्नुपर्नेमा जोड दिनुभएको हो ।
अध्यक्ष दाहालले तराई मधेसको आन्दोलनका बारेमा प्रमुख राजनीतिक दल र मधेसी मोर्चाका बीच छलफल भइरहेको भन्दै सहमतिबाटै विवादित विषयमा निकास निकालिने बताउनुभएको उहाँको सचिवालयले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष दाहालले विवादित विषयका रुपमा रहेको प्रदेशको सीमाङ्कनको विषयसमेत छलफल र संवादका माध्यमबाट सहमतिमा पुग्न सकिने र उच्चस्तरीय राजनीतिक समितिमार्फत टुङ्गो लगाउन सकिने भन्दै अध्यक्ष महतोलाई सकारात्मक वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष महतोले आन्दोलनबाट जनताले सास्ती पाएकाले पूर्व घोषित कार्यक्रममा पुनर्विचार गरी वार्तामा बस्न तयार रहेको बताउनुभएको थियो ।
संवाद र छलफलबाट नै सहमतिमा पुग्न आफूहरु पनि तयार रहेको भन्दै अध्यक्ष महतोले सकारात्मक वातावरण तयार गर्न उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहाललाई अनुरोध गर्नुभयो । रासस












प्रतिक्रिया