
– कमलराज भट्ट
काठमाडौं, २३ माघ । शुक्रबार राति गएको भूकम्पको कडा धक्काले एकपटक फेरि सर्वसाधारणलाई त्रसित बनाएको छ ।
५.५ रेक्टर स्केलमा सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पको धक्का निकै कडा महसुस गरिएको थियो । उक्त भूकम्पले हालसम्म उपत्यकामा ७१ जना घाइते भएका छन् । प्रहरीका अनुसार एक जनाको अवस्था गम्भीर छ ।
हिजो रातिको भूकम्पको कडा धक्का वैशाख १२को विनाशकारी भूकम्पको झण्डै १० महिनापछि महसुस गरिएको हो । यसअघि स-साना धक्का महसुस गरिएपनि यति ठूलो धक्का महसुस गरिएको थिएन् । भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, काभ्रे लगायतका जिल्लामा महसुस गरिएको थियो ।
यति लामो समयपछि भूकम्पको यति ठूलो धक्का किन गयो भन्ने प्रश्न अहिले हरेक सर्वसाधारणमा उब्जिएको छ । धेरैलाई अझै ठूलो भूकम्प आउने होकी भन्ने आशंका र त्रास पनि छ ।
यसविषयमा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले अहिले नै ठूलो भूकम्प आउने सम्भावना नरहेको बताए ।
उनले भने- हिजोको भूकम्प ‘गोरखा भूकम्प’कै कारण गएको हो । गोरखा भूकम्पका कारण खलबलिएका चट्टानहरु सेटल हुने क्रम तथा बाँकी रहेको शक्ति बरीपरी सर्ने क्रममा हिजोको धक्का महसुस गरिएको हो । गोरखा भूकम्पपछि बाँकी रहेको शक्ति स-साना धक्काको माध्यमबाट सरिरहेको थियो । हिजो पनि सञ्चित शक्ति सर्ने क्रममा केही ठूलो धक्का महसुस गरियो । सानो-सानो धक्का आउनु भनेको त्यो ठाउँमा सञ्चित रहेको शक्ति सर्ने क्रम हो भनेर बुझ्नुपर्छ ।
उनले काठमाडौं, दोलखा, रसुवाको लाङटाङ र गोरखादेखि उत्तर(पहाड, हिमाल)तिरको भागमा सञ्चित शक्ति सेटल हुने क्रममा स-सना धक्का आइरहने बताए । ‘वैशाखमा गएको गोरखा भूकम्पले उत्तरतिर पर्ने जमिनमुनी सञ्चित शक्तिलाई बाहिर ल्यायो । बाँकी रहेको शक्तिलाई बरीपरी धकेल्न बेलाबेला स-साना धक्का गइरहन्छन् । यसले केही क्षति गर्दैन् । दक्षिण(चुरे र तराई)तिर सञ्चित शक्तिमा अहिलेसम्म हलचल भएको छैन् । त्यो कसरी हुन्छ भन्ने अध्ययन भइरहेको छ । गोरखा भूकम्पजस्तै बाहिर आउँछ अथवा सर्दै सर्दै ठिक आउँछ त्यो अध्ययनपछि पत्ता लाग्छ ।’
उनले तराई क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताए । ‘दक्षिणतिर जम्मा भएको शक्ति बाहिर आएको छैन् । त्यसैले यो क्षेत्र निकैं जोखिममा छ । तर, तत्कालै भूकम्प जाने देखिएको छैन् ।’
सामान्यतयाः ठूलो भूकम्प जाँदा चट्टानहरु टुक्रिएर अलग हुने भन्दै भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले हिजोको भूकम्पमा पनि स-साना टुक्रिएको हुनसक्ने बताए । ‘उत्तरमा चट्टानले थेग्न नसकेपछि दक्षिणतिर सर्ने क्रम हुन्छ । त्यही क्रममा हिजो ठूलो धक्का महसुस गरिएको हो,’ उनले भने ।
उनले १८९०को शक्तिशाली भूकम्पपछि काठमाडौंमा मात्रै तीन महिनाको अवधिमा ठूला ठूला ३९ वटा भूकम्प गएको तथ्यांक भेटिएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए ।















प्रतिक्रिया