
काठमाडौं, २३ माघ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा निकट ठेकेदार एवम् व्यापारी जिपछिरिङ लामाले गृह जिल्ला दोलखामा धाँधली गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताहरुले लगाएका छन् ।
दोलखा कांग्रेसमा आफ्नो दब्दबा राख्दै आएका लामाले शुक्रबार चरिकोटमा भएको क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचनमा आफ्ना बाहुबलीहरु(गुन्डा) लगाएर धाँधली गरेका हुन् ।
कांग्रेस दोलखाका एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिमा आफू हार्ने संकेत देखेपछि लामाले आफ्ना बाहुबलीहरुलाई परिचालन गरेर मतदान गराएका हुन् ।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेका पार्वत गुरुङसँग नराम्रोसँग पराजित भएपछि अत्तालिएका ठेकेदार लामा देउवाको आसपास भौतारिँदै आएका थिए । लामाले नै देउवालाई राजनीति गर्न आर्थिक सहयोग गर्दै आएको कांग्रेसी नेताहरुको भनाइ छ । अहिले पनि महाधिवेशनका लागि लामाले देउवालाई दश करोड सहयोग गरेको बानेश्वरस्थित देउवाको सम्पर्क कार्यालयमा चर्चा हुने गरेको छ ।
संविधानसभामा पराजित भएको रिसको झोँक कांग्रेस नेता लामाले शुक्रबार क्षेत्र नम्बर १ को निर्वाचनका क्रममा देखाएका हुन् ।
यतिसम्मकी लामाले आफ्ना बाहुबलीहरु परिचालन गरेर मतदान गर्न जाने बुथ प्रतिनिधिहरुको मत पत्र खोस्न लगाई पहिला आफ्नो नाममा टिक लगाएर मात्र भित्र पठाउने गरेको आरोप एक प्रत्यक्षदर्शी नेताले लगाए ।
यस विषयमा सोधिएको प्रश्नको जिज्ञासामा निर्वाचन अधिकृत शम्भु गौतमले भने, ‘निर्वाचनका बेला अलि अलि यताउता त भइहाल्छ । यसलाई लिएर बखेडा गर्नुको आवश्यक्ता छैन । उहाँ ठूलो नेता हो । म धेरै बोल्दैन ।’
दोलखाका जिल्ला सभापति ताराबहादुर कोइरालाले पनि यो विषयका बारेमा बोल्न चाहेनन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका ताराबहादुरले लामाको बिरोध गर्दा पछि आफूलाई घाटा हुनेभन्दै शुक्रबारको धाँधलीका विषयमा स्थानीय पत्रकारहरुसँग बोल्न मानेका होइनन् ।












प्रतिक्रिया