
काठमाडौँ, २१ माघ । गत सोमबार भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज मध्यप्रदेशस्थित आर्मी वार कलेजको भ्रमण गर्नुभयो ।
सो अवसरमा कलेजका कमान्डान्ट लेफ्टिनेन्ट जनरल नरसिमहनले प्रधानसेनापति क्षत्रीलाई स्वागत गर्नुभएको थियो । कलेजमा नेपाली सेनाबाट इन्फेन्ट्री तथा सिग्नलसम्बन्धी विभिन्न तालिममा सहभागिता रहँदै आएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्री र कलेजका कमान्डान्टबीच भएको भेटवार्तामा नेपाली र भारतीय सेनाबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, पेसागत अभिवृद्धिको निमित्त दुवै देशबीच सञ्चालित विभिन्न तालिमको समीक्षा एवम् आपसी सहकार्य र पारस्परिक हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति क्षत्रीले आजै भारतको इन्फेन्ट्री कुलको निरीक्षण भ्रमण गर्नुभएको छ । सोही क्रममा प्रधानसेनापति क्षत्रीले इन्फेन्ट्री स्कुलका कमान्डान्ट लेफ्टिनेन्ट जनरल कोनसाम हिमालय र आर्टिलरी स्कुलका कमान्डान्ट लेफ्टिनेन्ट जनरल विनोद नायनरसँग छुट्टाछुट्टै गर्नुभएको भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । रासस












प्रतिक्रिया