
– प्रकाशचन्द्र भट्टराई
तनहुँ, २१ माघ । तपाई ९० लाखको जग्गा बेच्दै हुनुहुन्छ भने पक्कै पनि त्यो रकमले केही काम गर्ने वा अन्यत्र कतै घर जग्गा खरिद गर्ने या व्यापार व्यवसायमा लगानी गर्ने योजना पहिल्यै बनाउनु हुन्छ ।
कसैले पनि त्यती धेरै मुल्यको जग्गा बेच्दा रित्तो हात हुनु पर्ला भनेर कल्पना पनि गर्न सक्दैन, तर त्यो कल्पना पनि गर्न नसकिने अवस्था वास्तविकतामा परिणत भएको व्यास १ मोहरियाटार निवासी भिमसेन पाण्डेलाई ।
पाण्डेले केहि दिन अघि १९ रोपनी ९ आना जग्गा पोखराका रामचन्द्र सुनारलाई ९० लाख (चलनचल्तीको मुल्य भन्दा निकै कम) मा बेचे तर हालसम्म पाण्डेको हातमा एक रुपैयाँ पनि परेको छैन । जग्गा बेचेको पैसा पाउनु त कता हो कता उल्टै पाण्डे ज्यान जोगाएर हिड्नु परेको छ । भिमसेन सहित उनकी दिदिहरु ५५ बर्षिय विष्णुमाया पाण्डे र ५२ बर्षिय काली पाण्डेले गत पुस २८ गते सिन्धुपलान्चोक जिल्ला घर भई हाल पोखरा बस्दै आएका सुनारलाई मालपोत कार्यालय तनहँुबाट जग्गा पास गरेका थिए ।
जग्गा खरिद गर्ने सुनारले पाण्डेलाई जग्गा वापतको ४५ लाख रुपैयाँ बुझाएको र बाँकी रकम २०७४ फागुन मसान्त भित्र बुझाउने तमसुक गरेका थिए । तर सुनारले बुझाएको ४५ लाख रुपैयाँ सबै बिचौलियाले खाएर आफ्नो भागमा हालसम्म एक रुपैयाँ पनि नपरेको पाण्डेले बताए । जग्गा पास गर्ने दिन बिचौलियाहरुले उनका दिदिहरुलाई मालपोत कार्यालय अगाडीको एक होटलको कोठामा थुनेर जबरजस्ती रजिष्ट्रेशन कागजमा हस्ताक्षर गर्न दवाव दिएको र आफुलाई मालपोत कार्यालयको प्रमुखको अगाडी जग्गाको सबै पैसा बुझिसकेको भन्न दवाव दिएको पाण्डेले बताए । तर सुनारले भने आफुले सहमती अनुसारको पैसा पाण्डेलाई बुझाएको र बाँकी पैसा पनि सहमती अनुसार नै बुझाउने भन्दै पाण्डेको पैसा कस कसले खाएको हो भन्ने बारेमा आफुलाई जानकारी नभएको बताए ।
जग्गा खरिद गर्ने सुनारले दिएको ४५ लाख मध्येबाट १५ लाख रुपैयाँ व्यास १ को हाईस्कुलटारमा पाण्डेलाई घर खरिद गर्न जग्गाको बिचौलियाको काम गर्दै आएका अमृत गिरी लगायतले लिएर गएको तर पछि बैनाको तमसुक माग्दा तमसुक गिरीले नै च्याती दिएको पाण्डेले विहिबार पत्रकारहरुसँग बताए ।
आफ्नो भएभरको सबै जग्गा बेचेर पनि एक रुपैयाँ नपाएको र उल्टै पैसा मागेमा जे पनि हुन सक्ने भन्ने धम्की पाएपछि पाण्डे र उनका दिदिहरु केही दिन देखी भौंतारिँदै हिडेका छन् । व्यास नपा १ निवासी केही अगुवाहरुसँग पाण्डेले आफ्नो पिडा व्यक्त गरेपछि विहिबार दिउँसो सबै पक्षलाई भेला गरि पाण्डेको पैसा तिर्न दवाव दिईएको थियो ।
दिनभर भएको छलफलमा पाण्डेको जस जसले पाण्डेको पैसा खाएको हो त्यो सबै तिर्नु पर्ने अन्यथा कानुनी प्रक्रिया सुरु गर्ने निश्कर्ष निकालेपछि जग्गा खरिद गर्ने सुनार, बिचौलियाको काम गर्ने गिरी लगायत पैसा खाने सबै बिचौलियाहरुले पैसा फिर्ता गर्ने सहमती भएको थियो ।












प्रतिक्रिया