१४ कार्तिक २०८३, शनिबार

कालोबजारी रोक्न माग गर्दै आयल निगम घेराउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-Nigam

काठमाडौँ, २१ माघ । इन्धन आयात सहज नभएको तथा कालोबजारी संस्थागत भएको भन्दै एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सहितका विद्यार्थी सङ्गठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

आज बिहान ११ बजेदेखि अपराह्न १ः०० बजेसम्म एमाओवादी, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा माओवादीसँग सम्बन्धित विद्यार्थी सङ्गठनले निगम घेराउ गरेका हुन् ।

उनीहरुले इन्धन वितरण पारदर्शी हुनुपर्ने, हालसम्म राजधानी भित्रिएको इन्धनको सत्यतथ्य जानकारी सार्वजनिक गर्नुपर्ने, रिरुट गरेर ल्याइएको खाना पकाउने ग्यास कहाँ कहाँ के कति मात्रामा वितरण गरियो सो को समेत जानकारी सार्वजनिक रुपमा गराउनुपर्ने माग गरेका छन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्लले इन्धन अभावमा मुलुकको जनजीवन नराम्ररी प्रभावित भइरहेको बेला सरोकारवाला निकाय कानमा तेल हालेर बसेको भन्दै झक्झक्याउनका लागि आफूहरुले प्रदर्शन गरेको जानकारी दिनुभयो ।

इन्धन आपूर्ति सहज बनाउने विषयमा तीनवटै विद्यार्थी सङ्गठनले बुधबार आपूर्तिमन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र बुझाएका थिए भने इन्धनको मूल्य समायोजन भए पनि सार्वजनिक सवारीसाधनको भाडा नघटेकोमा यसअघि यातायात व्यवस्था विभागलाई समेत ध्यानाकर्षण गराएका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले कालोबजारी संस्थागत भएको र त्यसमा निगमको नै दोष पाइएकाले त्यसविरुद्ध सङ्घर्ष गरिएको बताउनुभयो । रासस