
विराटनगर, २१ माघ । मधेशी मोर्चाका नेता महन्थ ठाकुरले माग पूरा नभएसम्म बीरगञ्ज नाका नखुल्नेबारे दिएको बयानमाथि आफ्नो कडा आपत्ति जनाउँदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बीरगञ्ज नाका तत्काल खोलिनुपर्नेमा जोड दिएका छन् ।
दुई दिने बिहार भ्रमण सकाएर बिराटनगर फर्केका मधेशी मोर्चाका नेता महतोले बीरगञ्ज नाकालाई बार्गेनिंगको आधार नबनाउन मोर्चाका अन्य घटकका नेतासंग आग्रह गरेका छन् । महतोले भने– यदि नाका केन्द्रित आन्दोलनलाई जारी राख्ने हो भने चारवटै नाका ठप्प पारौं अन्यथा बीरगंज नाका पनि सहज गर्नुपर्छ ।
नेता महतोले मधेशी मोर्चाका अन्य नेताहरूद्वारा बीरगञ्जको नाकाबन्दी यथावत राख्नुपर्ने दिएको अभिव्यक्ति प्रति आफ्नो असहमति जनाएका छन् । मोर्चाका घटक दलका नेताहरू प्रति कटाक्ष गर्दै महतोले भने– ‘काठमाडौंमा बस्ने अनि बीरगञ्ज नाकाबन्द गर्छौं भन्ने ठूलो ठूलो भाषण दिने, त्यो अब चल्दैन ।’ उनले मोर्चाको आगामी बैठकमा यसबारे विस्तारपूर्वक चर्चा हुने बताए ।
आफ्नै नेतृत्वमा पछिल्लो चार महिनादेखि बीरगञ्ज नाका ठप्प रहेको तर मोर्चाका अन्य नेताले यसमा कुनै चासो नदेखाएकोले बिराटनगर, भैरहवा र नेपालगंज नाका बन्द हुन नसकेको आरोप लगाए। ‘बाध्यताबश गरिएको नाकाबन्दीले नेपाल सरकारमाथि खासै असर नपारेको तर तस्करी मौलाएकोले यो मुलुकको लागि ठूलो चिन्ताको विषय बनेको छ,’ महतोले भने– ‘मोर्चाका अन्य नेताहरू इमानदार भई दिएको भए सबै नाका बन्द हुन्थ्यो र सरकारमाथि चर्को दबाब पनि पर्थ्यो ।’
सदभावना अध्यक्ष महतोले मधेशी मोर्चाको आगामी बैठकमा आन्दोलनको स्वरूपबारे निर्णय लिइने बताए । उनले भने शक्ति संचय गरेर सरकारमाथि दबाब बनाउनको लागि आन्दोलनको स्वरूपमा रणनीतिक फेरबदल हुन सक्ने संकेत गरे ।
नाकाबन्दी खोलिने अथवा नखोल्ने र आन्दोलनको स्वरूपबारे छलफल गर्न मधेशी मोर्चाको बैठक २२–२३ गते काठमाडौंमा हुने सम्भावना छ । मोर्चाका नेताहरू बिहारबाट फर्केर आएका छन् । बैठकका लागि उनीहरू काठमाडौं पुग्दै छन् । यसपालीको मोर्चाको बैठक निकै महत्वपूर्ण मानिएकोले महतो आफै काठमाडौं पुग्ने बताए ।












प्रतिक्रिया