काठमाडौं, २१ माघ । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको बिहार भ्रमणलाई लिएर भएका टिकाटिप्पणीको आलोचना गर्नुभएको छ ।
उहाँले सरकारका बहालवाला मन्त्रीहरु पनि भारतमा गएर आफ्नो कर्सी जोगाइदिन बिन्ती गरेको उदाहरण आफूहरुसँग पनि रहेको भन्दै बिहार भ्रमणका विषयमा अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष रायले भन्नुभयो, ‘अहिलेको परराष्ट्रमन्त्री कमल थापा भारतमा गएर लम्पसाल बन्न हुने । हामी बिहार भ्रमणमा जान नहुने ?’ उहाँले भ्रमणका विषयमा अनावश्यक टिकाटिप्णी आवश्यक नरहेको बताउनुभयो ।
भारतको बिहारमा गएर मधेसी मोर्चाका नेताहरुले आफूहरुको आन्दोलनमा सहयोग गर्न गरेको आग्रह र दस लाख बिहारी नेपाल पठाइ दिने भनेर दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् ।
मधेसी मोर्चाका नेता समेत रहनुभएका तमसपाका अध्यक्ष रायले मुलुकको समस्या समाधान नहुँदासम्म प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमणमा जान नहुने बताउनुभयो । ‘मुलुकको समस्या समाधान नगरेर प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा भ्रमण गरेर केही पनि उपलब्धि हुँदैन ।’
अध्यक्ष रायले अगाडि भन्नुभयो, ‘मुलुकभित्रको समस्या समाधान नगरेर प्रधानमन्त्री भारत भ्रमणमा जानु हुँदैन । पहिला यहाँको समस्या समाधान गर्नुपर्छ ।’












प्रतिक्रिया